कालिञ्चोक गाउँपालिका वडा अध्यक्षहरुले भन्छन केन्द्र विवादले विकास अवरुद्ध

दीक्षण समाचार
दोलखा, पुस
कालिञ्चोक गाउँपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले केन्द्र विवादले गाउँपालिकाको योजनागत काम कागजमै सिमित भएको गुनासो गरे । ५ वर्षमा विकासको थुप्रै काम गर्ने भनेर चुनावमा भोट मागियो, जितियो पनि तर काम गर्ने बेलामा गाउँपालिकाको केन्द्रमै अलिझदा समस्या भएको दुःखेसो गरे ।
कालिञ्चोक गाउँपालिकामा एक वर्षदेखि केन्द्र विवाद बल्झेको छ । विवाद छिप्पदै जाँदा गाउँपालिकाका अध्यक्ष विनकुमार थामी र उपाध्यक्ष कालिका पाठक बीचको बोलचाल समेत नहुने अवस्था भयो भने वडा अध्यक्षहरुलाई समेत विवादित बनाइ दियो । केन्द्र विवादकै कारण समयमा बजेट पास नहुने र योजना सम्झौता हुनै समय लागेको वडा नं. २ का वडा अध्यक्ष नानी पाण्डेले बताए ।
गाउँपालिकाको विवादले गर्दा विकास नै अवरुद्ध हुने स्थिति आएपछि जिल्ला संवाद समिति दोलखाको पहलमा बुधबार चरिकोटमा अध्यक्ष र उपाध्यक्ष बाहेकका गाउँ कार्यपालिका सदस्यहरु बीच मात्र छलफल भयो । छलफलमा सहभागी सबैले केन्द्रको विषयमा अध्यक्ष र उपाध्यक्ष नै २ भागमा विभाजित हुँदा समस्या भएको बताए ।
वडा नं. ९ सुन्द्रावतीका वडा अध्यक्ष रामप्रसाद मैनालीले केन्द्रको विषयमा जसले गाउँपालिका केन्द्रलाई आवश्यक २० रोपनीसम्म जग्गा उपलब्ध गराउँछ त्यही गाउँपालिका केन्द्र हुन्छ, तर अरु वडाले उपलब्ध गराउन नसके सुन्द्रावतीले त्यसको व्यवस्थापन गर्ने चुनौती दिए । वडा नं. ५ लापिलाङका वडा अध्यक्ष सुवास थामीले गाउँपालिकालाई चाहिएजति जग्गा लापिलाङमा निशुल्क दान गर्न जनता तयार रहेको बताए । गाउँपालिका भित्र सबैको केन्द्र पनि लापिलाङ नै हुने दाबी गरे ।
वडा नं. ७ सुनखानीका वडा अध्यक्ष चेतबहादुर खड्काले दोलखा सिंगटी सडकको आसपास वा पोखरेदेखि हिलेपानीसम्म सडक आसपासमा थता केन्द्र भए तापनि आफूहरुलाई मान्य हुने तर अध्यक्षले नै यसलाई विवादको रुपमा लम्ब्याएको आरोप लगाए । उनले प्रक्रियागत रुपमा गएर भए पनि चाँडै केन्द्र टुङ्ग्याउनु पर्ने तर त्यसको नाममा विकासको काम रोक्न नहुनेमा जोड दिए ।
वडा नं. ७ बाट निर्वाचित कार्यपालिका सदस्य कल्याणी शिवाकोटीले जनप्रतिनिधिहरु नै आपसमा झगडा गर्दा कर्मचारीहरु समेत कार्यालय बस्न छाडेको बताइन् । कर्मचारीहरु निहुँ बनाएर कार्यालय नजाँदा नागरिकका दैनिक काममा समेत असर पुगेको उनको भनाई छ । “असोजमा उपभोक्ता समितिसँग सम्झौता गरेर गर्ने भनेको काम पुसमा स¥यो पनि समयमा हुने हो कि नहुँने टुङ्गो छैन” उनले भनिन् “५ वर्षमा यो गर्छौं र त्यो गर्छौं भनेर आयौं अहिले आफैंभित्र अल्मलिंदा कुनै कामै गर्न सकेनौं ।”
गाउँपालिकाको केन्द्र विवाद मिलाएर अब विकासको कामलाई समेत अगाडी बढाउँन बाह्य पक्षले पनि सहयोग गर्नु पर्नेमा वडा अध्यक्षहरुको भनाई छ । वडा नं. १ का वडा अध्यक्ष बाबुलाल थामीले केन्द्र सबैलाई पायक पर्ने ठाउँमा पनि होस् विकासको काम पनि नरोकियोस् भने । गाउँपालिका भित्रको विवादले आफ्नो वडाले गर्ने काममा समेत बाधा पुगेको उनले गुनासो गरे ।
कालिञ्चोक गाउँपालिका भित्रको केन्द्र विवादले अस्थायी कार्यालय समेत भदौरेबाट स्वास्थ्य चौकी भवन कालिनागस्थान सुनखानी सरेको छ । अध्यक्षले प्रस्ताव गरेको ठाउँमा उपाध्यक्ष पक्षले अस्वीकार गर्ने र उपाध्यक्षले प्रस्ताव गरेको ठाउँमा अध्यक्ष पक्षले अस्वीकार गर्ने गरेका छन् ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिका वडा अध्यक्षहरुले भन्छन केन्द्र विवादले विकास अवरुद्ध"

Leave a comment

Your email address will not be published.


*