कालिञ्चोक गाउँपालिकाको नीतिः घरघरमा बाँदर पाल्ने, कृषि भ्यान चलाउने

साँकेतिक तस्बिर

ईश्वर विश्वकर्मा
चरिकोट, असार १९
दोलखाको कालिञ्चोक गाउँपालिकाले नयाँ आर्थिक वर्षको लागि निर्माण गरेको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको जनाएको छ । आत्मनिर्भर कृषि भन्ने सोचलाई साकार पार्न पालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि कृषिको विशिष्टीकरण, आधुनिकीकरण, औद्योगिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरण गर्ने नीति लिएको हो ।
अनुदानदेखि कृषि ऋणको व्यवस्था गरी उत्पादन तथा बजारीकरणमा किसानलाई सहयोग गर्दै समृद्ध बन्ने सङ्कल्पवाद साथ विभिन्न योजना बनाइएको र नयाँ आर्थिक वर्ष सुरु हुने बित्तिकै उक्त योजनाहरूको प्रभावकारी कार्यान्वयन गरी लक्ष्य प्राप्तिको गन्तव्यमा पुगिने पालिका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले बताउनुभयो ।
कृषिमा व्याप्त विद्यमान समस्यालाई निराकरण गरी किसानहरूलाई राहत प्रदान गरी निराश भएका किसानहरूलाई उत्साहित पारिने र युवाहरूलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यका साथ विविध नीति बनाई लागू गर्न लागिएको उहाँले बताउनुभयो । आगामी पाँच वर्ष भित्रमा कोही पनि भोकै नपर्ने वातावरणका लागि खाद्य उपलब्धताको सुनिश्चितता गरिने योजना अघि सारिएको छ । त्यसका लागि पनि कृषि क्षेत्रको विकास र विस्तार गरी कृषि उपजको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न अपरिहार्य रहेको अध्यक्ष शिवाकोटीले बताउनुभयो ।
कृषकहरूको वर्गीकरण गरी कृषक परिचयपत्र वितरण गरिने र सोको आधारमा विषेश सहुलियत प्रदान गरिने छ । कृषकको माग र गुनासो सम्बोधन गर्ने गरी बनाइएको नीति तथा कार्यक्रममा बाँदरले कृषिमा पु¥याएको हानी नोक्सानीलाई दृष्टिगत गरी विज्ञहरूको परामर्शमा “एक घर एक बाँदर पाल्ने अभियान सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका किसानहरू खेतबारीमा लगाएको बाली बाँदरले नष्ट गरिदिँदा वर्षेनी विस्थापित हुने अवस्थामा पुगेको बेला बाँदर पाल्ने अभियान सञ्चालन गर्न लागिएको अध्यक्ष शिवाकोटीले बताउनुभयो । अभियानले बाँदरको प्रजनन दर घट्ने र बाँदरको सङ्ख्यामा गिरावट आउने हुँदा किसानलाई राहत मिल्ने अपेक्षा लिइएको छ । आफ्नो बासस्थान वनमा रहने बाँदर आहाराको खोजीमा गाउँबस्ती तथा खेतबारीमा छिरेर मानिसलाई दुख दिन थालेपछि त्यसबाट मुक्त हुने उपाय स्वरुप पालिकावासीको सहमतिमा बाँदर पाल्ने नीति नै बनाइएको हो । “बाँदर पाल्नु रहर होइन, बाध्यता हो ।” अध्यक्ष शिवाकोटीले भन्नुभयो “कतिपयले हाम्रो यो नीतिलाई हास्यस्पद र अनौठो भनेका छन् । तर यो नीति कार्यान्वयन गछौँ । यसको प्रभावकारिता देखिएमा निरन्तरता दिने छौँ ।” बाली जोगाउन बाँदर लखेटेर बस्नुभन्दा एकएक वटा बाँदर घरघरमा खानेकुरा दिएर पाल्दा बाली जोगिने अपेक्षा छ । अध्यक्ष शिवाकोटी अनुसार आगामी आर्थिक वर्षबाट सुरु हुने अभियान कार्यान्वयनका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले कृषि बाली एवं पशुधन बिमा कार्यालाई व्यापक रुपमा प्रोत्साहन गर्ने, डेरीमा दुध बिक्री गर्ने किसानलाई प्रतिलिटर दुधमा तीन रुपैयाँ अनुदानको व्यवस्था, कृषकको अनुभव आदानप्रदानका लागि वर्षमा एक पटक कृषक भ्रमण गराउने लगायतको कार्यक्रम बनाएको छ ।  कृषकहरुका कृषि उत्पादनलाई उत्पादन स्थलबाटबाटै खरीद गरी लिने संयन्त्र व्यवस्था गरी कृषि उपज तथा पशुपन्छी बजारसम्म लैजान किसान भ्यानको व्यवस्था गर्ने भएको छ ।
“रोग हटाऔँ, उत्पादन बढाऔँ” भन्ने परिकल्पनाका साथ कृषि क्षेत्रमा विभिन्न रोगहरुको कारणबाट हुने क्षतिलाई न्यूनीकरण गरिने अध्यक्ष शिवाकोटीले बताउनुभयो । गाउँपालिका भित्र उत्कृष्ट किसानलाई उचित पुरस्कार गर्ने पालिकाको नीतिले प्राथमिकता पाएको छ । पालिकाको नीति कार्यक्रमबाट किसानहरु लाभान्वित भई अन्नबाली तथा पशुपन्छी र मासुमा पालिका आत्मनिर्भर हुने उद्धेश्य लिइएको छ । आयातित सामाग्रीको प्रयोग बढीरहेको बेलामा पालिका आफैँ आत्मनिभर हुँदै निर्यात गर्ने गरी उत्पादन बढाइने पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाको नीतिः घरघरमा बाँदर पाल्ने, कृषि भ्यान चलाउने"

Leave a comment

Your email address will not be published.


*