कालिञ्चोक गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०
दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि शिक्षा, स्वास्थ्य,  कृषि र पूर्वाधारलाई प्राथमिकता दिदैँ बजेट सार्वजनिक गरेको छ ।
विगतमा सुरु भएका क्रमागत एवं अधुरा योजनाको पूर्णतासँगै नयाँ योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी सुनखानी स्थित पालिका कार्यालयमा बिहीबार आयोजित गाउँसभामा ७२ करोड १९ लाख ८० हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको हो । कानुनी व्यवस्था अनुसार स्थानीय तहले असार १० मा बजेट ल्याइसक्नुपर्ने हुन्छ । सोही अनुसार कालिञ्चोक गाउँपालिकाले जिल्लाको अन्य पालिकाले भन्दा एक दिन अगावै आगामी आवको नीति, कार्यक्रम तथा योजनासँगै बजेट पेश गरेको हो । संघ, प्रदेशबाट प्राप्त अनुदान र आन्तरिक स्रोतको प्रयोग गरी निर्माण गरिएको बजेट पालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले गाउँसभामा प्रस्तुत गर्नुभएको थियो ।
बजेटका लागि अनुदानमै निर्भर गाउँपालिकाको एक करोड ९२ लाख १० हजार मात्र आन्तरिक आम्दानी हुने अनुमानित लक्ष्य छ । संघीय सरकारको समानीकरण अनुदान १४ करोड ५३ लाख, प्रदेश सरकार समानीकरण अनुदान एक करोड ४० लाख १७ हजार, संघीय शर्सत अनुदान २८ करोड ४ लाख, प्रदेश शर्सत अनुदान दुई करोड ६२ लाख ४ हजार रहेको छ । संघीय राजस्व बाँडफाँड नौ करोड १० लाख ९९ हजार, प्रदेश सवारी कर एक करोड ८२ लाख ५० हजार, प्रदेश विषेश अनुदान दुई करोड २५ लाख, प्रदेश सरकारको समपूरक अनुदान तीन करोड रहेको छ । संघीय विषेश अनुदान एक करोड ५० लाख र संघसंस्था मार्फत कार्यक्रम पाँच करोड ५० लाख रुपैयाँ पालिकाको बजेटमा समावेश गरिएको छ । पूर्वाधार विकासमा प्राथमिकता दिएको पालिकाले कुल बजेटको ६० प्रतिशत बजेट पूर्वाधार तर्फ विनियोजन गरेको छ । सामाजिक विकास तर्फ २० प्रतिशत, आर्थिक विकास तर्फ १५  प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापन तर्फ तीन प्रतिशत र संस्थागत विकास तर्फ दुई प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष बुढाथोकीले बताउनुभयो । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, संस्कृति, सामाजिक विकास, कृषि लगायतका क्षेत्रमा आगामी वर्ष उल्लेख्य प्रगतिको लक्ष्यसहित प्रस्तुत बजेट जनमुखी र आकर्षक रहेको उहाँले बताउनुभयो ।
जिल्लाको आठ पालिकाले शुक्रबार बजेट सार्वजनिक गर्दै छन् । स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले नागरिकको चाहना र सुझावलाई समावेश गरी नीति, योजना तथा कार्यक्रम र बजेट निर्माण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (१) तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को उपदफा (३) को उल्लेखित व्यवस्था अनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि सभामा बजेट पेश गर्नुपर्ने हुन्छ । दोलखामा दुई नगरपालिका र सात गाउँपालिकासहित नौ पालिका रहेको छ । जसमा आठ पालिकाले शुक्रबार बजेट पेश गर्ने जनाएका छन् । गएका दुई आर्थिक वर्ष कोरोना नियन्त्रण र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट बनाएका स्थानीय तहले अहिले भने भौतिक पूर्वाधारलाई जोड दिएका छन् ।

Shares

Be the first to comment on "कालिञ्चोक गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*