कालिञ्चोकमा केबलकारको परीक्षण सुरु

दीक्षण समाचार
कुरी, ८ असोज
कालिञ्चोक केबलकारको परीक्षण सफल भएको छ । मुलुकको तेस्रो केबलकारको रुपमा स्थापना भएको केबलकार प्रारम्भिक परीक्षणमा सफल भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले दुई वर्षअघिदेखि निर्माण सुरु गरेको केबलकारले पहिलो चरणको परीक्षण पास गरेको हो ।
कालिञ्चोकमा निर्माण भइरहेको केबलकारको काम अन्तिम चरणमा पुगेको छ । दसैंअघि नै सञ्चालन गर्ने तयारीका साथ काम गरिरहेको केबलकारले स्विट्जरल्यान्डबाट प्राविधिक नआएकाले ढिला भएको कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए । केबलकारका लागि आवश्यक सामग्री स्विट्जरल्यान्डबाट ल्याइएको हो ।
दसैंपछि स्विट्जरल्यान्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इन्जिनियर आउने र उनीहरुले २–३ दिनमा परीक्षण र आवश्यक काम गर्ने शिवाकोटीले जानकारी दिए । १५–२० दिन टेस्ट गर्नुपर्ने भएकाले आंशिकरुपमा तिहारअघि नै सञ्चालनमा आउने र पूर्णरुपमा मङ्सिरपछि मात्र सञ्चालन हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए ।
यसअघिको सरकारले केबकारलाई ४ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने जनाएको थियो । तर अहिलेको सरकारले नयाँ नियम नबनेको भन्दै भन्सार छुट नदिँदा कम्पनीलाई थप आर्थिक भार पुगेको शिवाकोटीको भनाइ छ । दोलखाली उद्योगी व्यवसायीहरुको लगानी रहेको सो केबलकारमा ४ ओटा गोण्डला रहने छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ ।
कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि ९ सय मिटर लामो केबलकार निर्माण गरिएको छ । पहिलो चरणमा ३ दिनदेखि गोण्डला राखेर इन्जिनियरिङ परीक्षण गरेको हो । कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नु पर्छ । कतिपय धार्मिक पर्यटकहरु त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरुको वृद्धि हुने अपेक्षा गरिएको छ ।
केबलकारबाट मन्दिरसम्म पुग्न पाँच मिनेट मात्र लाग्ने उनले उनले बताए । कालिञ्चोकका कुरीसम्म सडकको अवस्था सुधार भएको र केबलकार निर्माण सुरु भएपछि सुविधा सम्पन्न होटलहरु समेत ३ दर्जन बढी खुलेका छन् । होटलको संख्या बढ्दै छन् । केबलकारबाट कुरी बजार र हिमालका मनोरम दृष्य नजिकबाट नियाल्न सकिन्छ ।

२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको सीईओ शिवाकोटीले बताए । ‘सुरुमा २६ करोड रुपैयाँको लागतमा निर्माण गर्ने भनिए पनि निर्माण अवधि बढेसँगै सामानको मूल्य पनि बढेका कारण लागत वृद्धि भयो,’ उनले भने ।
केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ भने तापनि वडा नं. १ र ५ बीच सिमाना विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ ।

Shares

Be the first to comment on "कालिञ्चोकमा केबलकारको परीक्षण सुरु"

Leave a comment

Your email address will not be published.


*