कालिञ्चोकका होटल व्यवसायीलाई मूल्यसूची अनिवार्य

दोलखा, २७ माघ
कालिञ्चोक क्षेत्र होटलहरुमा अब अनिवार्य रुपमा मूल्यसूची राख्नु पर्ने भएको छ । कालिञ्चोक क्षेत्रमा रहेका होटल व्यवसायीहरुलाई भेला गरेर दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सबै व्यवसायीलाई आ–आफ्नो होटलमा मूल्यसूची राख्न निर्देशन दिए ।
जिल्लाका सुरक्षा प्रमुखहरु र कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामी सहित कालिञ्चोक क्षेत्रको अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी पाठकले एक हप्ता भित्र होटलहरुको मूल्यसूची जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिए । “सबै होटल व्यवसायीहरुले एक साता भित्र मूल्यसूची हामीलाई पेश गर्नुस्” उनले भने “होटलको स्तर अनुसारको सूचीमा उद्योग वाणिज्य संघ, होटल संघ लगायतका सरोकारवालासँग मिलेर मूल्यसूचीलाई अन्तिम रुप दिनेछौं ।” मूल्यसूचीभन्दा बढी जो कोहीले पर्यटकसँग पैसा लिए प्रशासनले कारबाही गर्छ ।
गुनासो बढेपछि प्रशासनको सक्रियता
कालिञ्चोकमा पर्यटकहरुको वृद्धिसँगै होटल व्यवसायी र गाडीबाट पर्यटकहरु ठगिन थालेको गुनासो बढेपछि त्यसको व्यवस्थापनका लागि प्रशासनले सक्रियता देखाएको हो । कालिञ्चोकमा घुम्न आएका पर्यटकसँग केही होटल व्यवसायीहरुले मनलाग्दी मूल्य लिएको, दुव्र्यवहार गरेको र होटलको पैसा तिर्न नसकेर पर्यटकहरुले सुनको औंठी, लगायतका सामाग्री समेत छाड्नु पर्ने गुनासो आफूकहाँ आएको प्रजिअ पाठकले बताए ।
“केही व्यवसायीले राम्रो व्यवहार समेत गर्नु भएको छ, हिउँमा फसेर बेखर्ची भएकालाई खर्च समेत दिएर पठाउँनु भएको छ” उनले भने “तर केही व्यवसायीहरुले बाहिरबाट आउँनेहरुसँग एक पटक हो जति पनि लिए हुन्छ जस्तो व्यवहार देखाएकाले बाध्य भएर प्रशासन यहाँसम्म आउनु परेको हो ।”
प्रमुख जिल्ला अधिकारी पाठकले व्यवसायीहरुलाई दिर्घकालिन रुपको हुने गरी व्यवसाय गर्न र पर्यटकहरुलाई सम्मान गर्न आग्रह गरे । प्रशासनले कालिञ्चोक क्षेत्रको कुरी, घ्याङडाँडा र माथिल्ला क्षेत्रमा रहेका होटल तथा पसलहरुको लगत संकलन समेत गरेको छ । लगत संकलनका क्रममा एकै व्यक्तिले ३ वटासम्म होटल सञ्चालन गरेको र सरकारी जग्गामा छोरालाई अंश दिए जसरी भागबण्डा समेत गरेको देखिएको उनले बताए ।
२ वर्ष अघि गुठी संस्थानसँगको समन्वयमा ४० होटलले भूबहाल कर तिर्ने गरी होटल सञ्चालनको अनुमति लिएका छन् । ति अनुमति लिएका होटलहरु मध्ये पनि अधिकाँशले डेढ वर्षसम्म भूबहाल कर नतिरेको उनले बताए । अनुमति लिएका वा नलिएका जसले पनि ठगी गरे, अनियमितता गरे जो कोहीलाई पनि कारबाहीको भागीदार हुने उनले बताए ।
गाउँपालिकाले व्यवसाय दर्ता गर्ने
कालिञ्चोक क्षेत्र कालिञ्चोक गाउँपालिका भित्र पर्छ । गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले कालिञ्चोक गाउँपालिकाको व्यवसाय तथा कर नीति बनिसकेकाले अब निर्देशिका तयार गरेर केही समयमै व्यवसाय दर्ता सुरु हुने बताए । गाउँपालिकाको आफ्नो प्रणाली सुरु भएपछि कालिञ्चोकका होटलहरु गाउँपालिका कार्यालयमा दर्ता गर्ने र भू बहाल कर समेत गाउँपालिकामै तिर्न आग्रह गरे ।
व्यवसायीहरु करको दायरामा आएपछि कुरी क्षेत्रको खानेपानी, सडक, फोहोरमैला व्यवस्थापनमा गाउँपालिकाले खर्च गर्ने बताए । उनले कालिञ्चोकको कुरीमा खानेपानी योजनाका लागि सर्भे भइरहेको समेत जानकारी दिए । बजारभन्दा माथि पानीको स्रोत नभएकाले तलबाटै लिफ्ट विधिबाट ल्याउनु पर्छ ।
प्रहरी चौकी स्थायना हुने
कालिञ्चोकमा पर्यटकहरु बढेसँग सुरक्षाका लागि नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी स्थापना हुने भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बासुदेव पाठकले प्रहरी चौकीका लागि प्रहरी प्रधान कार्यालयबाट समेत स्वीकृती पाइसकेको बताए ।
प्रहरी चौकी राख्नका लागि जग्गा समेत तयार भइसकेको छ । त्यसलाई मिलाएर चौकीका लागि भवन तयार हुने वित्तिकै प्रहरी खटिने उनले बताए । कालिञ्चोकमा सुरक्षा चुनौतीको समेत गुनासो आएपछि प्रहरी चौकी नै राख्न लागेको उनले जानकारी दिए ।
अतिक्रमण बढ्यो
पछिल्लो समय कालिञ्चोक क्षेत्रको कुरी, कालिञ्चोक मन्दिर, घ्याङडाँडा क्षेत्रमा अतिक्रमण बढेको छ । पर्यटक आगमनसँगै व्यवसाय वृद्धि हुन थालेपछि प्राकृतिक स्वरुपलाई नै विगार्ने गरी ठाउँ ठाउँमा संरचना बनेका छन् ।
सार्वजनिक जग्गालाई व्यक्तिले आफूखुशी घरेडी बनाएर संरचना निर्माण गरिरहेका छन् । ठाउँ ठाउँमा स्काभेटर लगाएर घरेडी बनाएका छन् । सार्वजनिक जग्गालाई व्यक्तिहरुले अंशबण्डा जस्तो लगाएका छन् । प्राकृतिक स्वरुप विगार्न थालेपछि सर्वत्र चासोको विषय बनेको छ ।
प्रमुख जिल्ला अधिकारी पाठकले अनुमति पाएका भन्दा बढी संरचना बनाउन खोज्ने र सार्वजतिक जग्गा अतिक्रमण गर्ने जो कोहीलाई पनि कानुनी कठघरामा ल्याउने बताए । अब काठचोरी निकासी गर्ने, डोजर लगाएर घरेडी बनाउने जस्ता कार्य बन्द हुने बताए ।
कालिञ्चोक क्षेत्र अतिक्रमण बारे संसदीय समितिमा समेत छलफलको विषय बनेकाले प्रशासनले सुक्ष्म रुपमा अध्ययन गरिरेको बताए ।

Shares

Be the first to comment on "कालिञ्चोकका होटल व्यवसायीलाई मूल्यसूची अनिवार्य"

Leave a comment

Your email address will not be published.


*