कालिका माविको ६६ औँ वार्षिकोत्सव सम्पन्न

दीक्षण समाचार
चरिकोट, माघ २४
दोलखाको मेलुङ गाउँपालिका–२ सुकाठोकर, कोलचौरमा अवस्थित  कालिका माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ  ।
वार्षिक उत्सव समारोहको उद्घाटन गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले गर्नुभयो । सो क्रममा उहाँले पालिकालाई समृद्ध बनाउने अभियान अन्तर्गत शिक्षामा लगानी गरिएको र शैक्षिक सुधारको कार्यमा पालिका अग्रसर भएको सुनाउनुभयो । समारोहमा विद्यालयका प्रधानाध्यापक रामभरत तामाङले गत आर्थिक बर्ष २०७७÷०७८ को १ करोड ८६ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले गुणस्तरीय शिक्षा प्राप्त गर्ने विद्यार्थीको अधिकारका लागि विद्यालयले काम गरिरहेको सुनाउनुभयो । विद्यालयको शैक्षिक उपलब्धि सन्तोष जनक रहेको थप सुधारका गरी गौरव गर्न लायक बनाउन विद्यार्थीको अधिक मिहिनेत र अन्यको सहयोग अपरिहार्य रहेको उहाँले सुनाउनुभयो ।
विद्यार्थीलाई छात्रवृत्ति वितरण 
जिल्ला समन्वय समिति दोलखा सदस्य विदुर शर्माले अघिल्लो वर्ष १ लाख ५ हजारको अक्षय कोश स्थापना गर्नुभएको छ । सो अक्षय कोशबाट १२ जना जेहेन्दार, विपन्न विद्यार्थीलाई वार्षिकोत्सवको अवसरमा जनही पाँच सयको दरले छात्रवृत्ति प्रदान गरिएको छ । बिदुर शर्माले आठ जना विद्यार्थीलाई पाँच सयको दरले छात्रवृत्ति वितरण गर्नुभयो । सदस्य शर्माले व्यक्तिगत रुपमा २० जना विद्यार्थीलाई झोला, २० जना विद्यार्थीलाई स्टेसनरी सामाग्री र विद्यालयलाई २ वटा क्यारेमबोर्ड, २ वटा भलिबल लगायत खेलकुद र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । शैलेन्द्र खड्काले आफ्नी आमा मीनकुमारी खड्काको नाममा ५० हजारको अक्षय कोश खडा गर्नुभएको छ । सो कोशबाट यो वर्ष ७ जनालाई जनही चार सयका दरले छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक तामाङले बताउनुभयो ।
समारोहमा पालिका उपाध्यक्ष कल्पना भण्डारी, पालिका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष हिरा थोकर, शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख शिक्षा अधिकृत नवराज सापकोटा, वडा नं. २ का वडाध्यक्ष जित बहादुर भण्डारी, वडा नं. ७ का वडाध्यक्ष नवराज खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Shares

Be the first to comment on "कालिका माविको ६६ औँ वार्षिकोत्सव सम्पन्न"

Leave a comment

Your email address will not be published.


*