कालापानीमा राखियो २० फिट अग्लो बुद्ध मूर्ति

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ११
दोलखाको शैलुङ गाउँपालिकास्थित कालापानीमा २० फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरिएको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाने मुख्य प्रवेश मार्ग कालापानीमा मूर्ति प्रतिस्थापन गरिएको हो । गत वर्षकाे मंसिरमा एसके कन्सट्रक्सन एण्ड सप्लायर्सले चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने गरी ५८ लाख ७७ हजार ३ सय ३४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार स्तम्भ र आवश्यक संरचना निर्माणपछि मुर्ति प्रतिस्थापन गरिएको हो । भक्तपुरमा निर्मित उक्त मूर्ति १ साता अघि यहाँ ल्याइएको थियो । त्यसपछि लामा गुरुहरुद्वारा विधिपूर्वक पूजाआजा सम्पन्न भएपछि सोमबार प्रतिस्थापन गरिएको पालिकाका इन्जिनियर कमल थापा मगरले जानकारी दिए । मूर्ति प्रतिस्थापनको काम सम्पन्न भएपनि थप बुट्टा भर्ने, रङरोगन लगायत ‘फिनिसिङ’ काम बाँकी नै रहेको र ती काम कोरोना महामारीलाई मध्यनजर गर्दै सतर्कता अपनाएर तीव्र गतिमा भईरहेको छ । पालिका अध्यक्ष भरत प्रसाद दुलालले मूर्ति प्रतिस्थापनपछि पालिकाको धार्मिक तथा सांस्कृतिक गरिमाका साथै प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल शैलुङको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । शैलुङ गाउँपालिका पर्यटन प्रर्वद्धन गरी आयआर्जनको मार्गमा लम्किरहेको छ । यही योजना अनूरुप थुम्कैथुम्काले सजिएको हिन्दू र बौद्धमार्गीको साझा धार्मिकस्थल शैलुङमा आवश्यक पूर्वाधार निर्माण गर्न पालिका तम्सिएको छ । हुन त शैलुङ प्राकृतिक रुपमैँ सौन्दर्यले भरिपूर्ण रहेको छ । यद्यपी केही संरचना निर्माण गरी थप सौन्दर्य भर्ने काम अघि बढाइएको छ । शैलुङमा भ्युटावर निर्माण गरिएको छ । २ सय ५० केजीको घण्टा र त्रिशूल राखिएको छ । विभिन्न स्थानमा भगवानको मूर्ति प्रतिस्थापन गरिनुका साथै पदमार्ग निर्माण गरिएको छ । कालापानीमा पालिकाले जग्गा उपलब्ध गराएपछि होटलहरु खुल्ने क्रम बढेको छ । जसले गर्दा शैलुङ भ्रमणमा आउने आगन्तुक पाहुना तथा पर्यटकहरुलाई सहज हुन भएको छ ।

Shares

Be the first to comment on "कालापानीमा राखियो २० फिट अग्लो बुद्ध मूर्ति"

Leave a comment

Your email address will not be published.


*