काभ्रेमा क्रुर हत्या गरिएको व्यक्ति दोलखाका विष्णु सुवेदी रहेको पुष्टि

चरिकोट(दीस) – काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको दोलखाको विष्णु सुवेदीको भएको पुष्टि भएको छ । मृतकका परिवारले उनको शव आज बुझेको छ । काभ्रे प्रहरीका अनुसार शव १० दिनदेखि वेपत्ता भएका दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ वर्षीय सुवेदी २३ वैशाखमा ललितपुरको टिकाथलीस्थित घरबाट हिँडेदेखि सम्पर्कविहीन भएका थिए । उनको शव २८ वैशाखमा पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो ।प्रारम्भिक अनुसन्धान अनुसार, उनको हत्यापछि रुखमा तारले बाँधेर जलाएको हुनसक्ने आशंका गरिएको थियो । तर, काभ्रे प्रहरीले भने उनको हत्या भएको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।मोबाइल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक २४ वैशाखमा जिरोकिलोस्थित एक होटल सञ्चालकको मोबाइल नम्बरबाट घरमा सम्पर्क गरेर केहीदिन घर नफर्किने बताएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् ।

Shares

Be the first to comment on "काभ्रेमा क्रुर हत्या गरिएको व्यक्ति दोलखाका विष्णु सुवेदी रहेको पुष्टि"

Leave a comment

Your email address will not be published.


*