काठमाडौ ः काठमाडौंको गैह्रीगाउँमा दोलखा कालिञ्चोक ८ सुनखानीका एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।
गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । उनका अनुसार चारै जना सोही सःमिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।
काठमाडौंको गैह्रीगाउँको हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको प्रमुख थापाले जानकारी दिए ।
घटनाको यकिन कारण खुलेको छैन । घटनास्थलमा नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू पनि ल्यएएको छ ।
Be the first to comment on "काठमाडौंको गैह्रीगाउँमा दोलखाका एकै परिवारका तीन सहित ४ जनाको हत्या"