कांग्रेस दोलखाको दुई महिने अभियान सुरु

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ २
नेपाली कांग्रेस दोलखाले ’दुःखमा कांग्रेस, सुखमा कांग्रेस, घरघरमा कांग्रेस’ अभियान सुरु गरेको छ । संगठन सुदृढीकरण एवं आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी दुई महिने उक्त अभियान सुरु गरिएको हो । सभापति बर्मा लामाले पाटीलाई थप मजबुत र सुदृढ बनाउदै आगामी निर्वाचनमा आफ्नो पक्षमा सफल परिणाम पार्ने रणनीतिका साथ जिल्ला कार्य समितिको निर्णयअनुसार अभियान सञ्चालन गरिएको बताउनुभयो । उक्त अभियान बुधबारदेखि सुचारु भइसकेको जानकारी दिँदै सभापति लामाले भन्नुभयो “स्थानीय तहको निर्वाचनमा राम्रै प्रगति भएको छ । आगामी निर्वाचनमा स्थानीय तहको भन्दा राम्रो नतिजा हात पार्ने हाम्रो योजना रहेको हो । सोही बमोजिम अहिले पार्टीलाई बलियो बनाउने र शक्ति सञ्चय गर्ने अभियानको प्रमुख उद्देश्य हो ।”
उहाँका अनुसार अभियानअन्तर्गत जिल्ला, पालिका, वडा र टोल समितिको बैठक बस्ने, जनतासँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन हुने छन् । सभापति लामाले जिल्लाको वस्तुस्थिति र जनताको चाहना तथा गुनासो बुझ्नका लागि पनि अभियान केन्द्रित हुने बताउनुभयो । अभियान सञ्चालनका लागि जिल्लाका सबै पालिकाहरूमा संयोजक खटाइएको छ । अभियानका संयोजकलाई आवश्यक सहयोग गर्दै जिल्लामा अभियान सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन र अभियान सफल बनाउन निर्देशन दिइएको सभापति लामाले बताउनुभयो । उहाँले आगामी निर्वाचनको लागि कांग्रेसले शक्ति सञ्चय गर्ने र निर्वाचनको बेला खर्च गर्ने सुनाउनुभयो । सभापति लामाका अनुसार अभियानको क्रममा भएका सम्पूर्ण गतिविधि तथा वस्तुस्थितिको प्रतिवेदन तयार गरिने र सोही अनुसार निर्वाचन केन्द्रित हुने उहाँले बताउनुभयो ।


 उहाँका अनुसार भीमेश्वर नगरपालिकामा रामजीप्रसाद चौलागाईँ, जिरी नगरपालिकामा पारस तामाङ, बैतेश्वर गाउँपालिकामा सन्तोष रिमाल, तामाकोसी गाउँपालिकामा सुदर्शन कार्की, गौरीशंकर गाउँपालिकामा गोपी शिवाकोटी, मेलुङ गाउँपालिकामा यमबिक्रम कार्की, सैलुङ गाउँपालिकामा सुनिता नेपाली, कालिञ्चोक गाउँपालिकामा तारा थपलिया र बिगु गाउँपालिकामा छिरिङडोल्मा शेर्पा अभियान संयोजकको रुपमा खटिनुभएको छ । यो अभियान सम्पन्न भएसँगै निर्वाचन प्रचारप्रसार अभियान सञ्चालन गर्ने योजना रहेको सभापति लामाले सुनाउनुभयो । नेपाली कांग्रेसले यो अभियान सुरु गरिरहँदा नेकपा एमालेले संगठन शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गरिरहेको छ । एमालेले उक्त अभियान भदौ १५ गते सम्पन्न गरी अर्को चरणको अभियान निर्वाचन केन्द्रितमा सञ्चालन गर्ने जनाएको छ ।


आगामी मंसिर ४ मा एकसाथै प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । दशैँ, तिहार जस्ता ठूला चाडपर्व सकिएसँगै घोषित कार्यतालिका अनुसार निर्वाचन हुने छ । निर्वाचन हुने भएपछि राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु यसतर्फ केन्द्रित हुन थालेका छन् । निर्वाचन आउन तीन महिना बाँकी रहँदा राजनीतिक दलहरु अहिले देखि नै चुनाव लक्षित गतिविधिमा सक्रिय भएका हुन् । दोलखामा पनि राजनीतिक दलहरुले आफ्ना गतिविधिलाई निर्वाचन केन्द्रित बनाएर तीव्रता दिन थालेका छन् । यसले स्थानीय तहको निर्वाचनपछि शुनसान बनेका गाउँघरमा फेरी नेताहरुको चहलपहल बढ्न थालेको छ । चियापसलदेखि चोकबजारमा निर्वाचनको चर्चा परिचर्चा हुन थालेको छ । कसले टिकट पाउने, को उम्मेदवार हुने विषयले सर्वसाधारणको कुराकानीमा समेत प्रवेश पाउन थालेको छ । अहिले मौखिक रुपमा उम्मेदवारी दाबी, घोषणा गर्ने नेताहरु समेत बढ्न थालेका छन् ।

Shares

Be the first to comment on "कांग्रेस दोलखाको दुई महिने अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*