कपिलवस्तु तनावग्रस्त, एकजनाको ज्यान गयो

काठमाडौं । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा एकजनाको ज्यान गएको छ । ज्यान गएको प्रहरीले पुष्टि गरे पनि कसरी र कसको आक्रमणबाट ज्यान गएको हो भन्ने खुलेको छैन ।

तर प्रहरीको गोली प्रहारबाट एक २० वर्षीय युवकको ज्यान गएको बताइएको छ । यद्यपि प्रहरीले भने गोली चलेको पुष्टि गरेको छैन । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू समुदाय र मुस्लीम समुदायबीच झडप भएपछि कपिलवस्तुको कृष्णनगरमा आज बिहान ११ अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । दुई पक्षको विवादका बीच क्र्फयुमा समेत प्रदर्शन हुने अवस्थाका बीच गोली प्रहार भएको बताइएको छ ।

प्रहरीका अनुसार अहिले केही राउण्ड हवाई फायरसमेत गरिएको छ । बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो ।

प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो ।

मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो । विहीबार बिहान पनि अवस्था असामान्य बन्ने सम्भावना बढेपछि स्थानीय प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका कर्फ्यू जारी गरिएको हो ।

Shares

Be the first to comment on "कपिलवस्तु तनावग्रस्त, एकजनाको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*