ओलीले सपना देखे, देखाए तर काम गरेनन्ः शशांक कोइराला

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २६
केपी ओली सरकारले जनतालाई सपना देखाएको तर एउटा पनि काम नगरेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आरोप लगाएका छन् । नेपाली कांग्रेस नेपाल तरुण दल दोलखाको आयोजनामा बिहीबार चरिकोटमा  आयोजित जिल्ला स्तरीय तरुण भेला,मार्चपास तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधनको गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने ‘केपी ओली सरकारले पानी जहाजको सपना देखायाे । रेल ल्याउने सपना देखायाे, तर एउटा पनि काम गरेन । यी सबै प्रधानमन्त्री अाेलीकाे सपना मात्र हो । ओली मस्त निदाएका छन् । त्यसैले काम गर्दैनन्, सपनामात्र देख्छन् । उनले जनतालाई सन्तुष्ट पार्ने एउटा काम गरेको भए राजनितिबाटै सन्यास लिन्छु ।’ करिब ६ मिनेटमा आफ्नो मन्तव्य सक्काएका नेता कोइरालाले ओली सरकारको बिरुद्ध बोलेर बस्नु भन्दा कांग्रेसले आफ्नो संगठनलाई बलियो र सुदृढ पार्दै आगामी चुनाव जित्ने तर्फ आफ्नो क्रियाकलापलाई तीव्रता दिनुपर्ने बताए । उनले भने ‘नेपाली कांग्रेसले अब आउँदो निर्वाचनमा आफ्नो वर्चश्व राख्छ । अनि देशलाई नयाँ उचाईमा लान्छ । ताकि ओली सरकारले जस्तो सपना मात्र देखाउने काम कदापी हामी गर्ने छैनौ ।’ त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले नेपाल तरुण दल दोलखाले आफ्नो कार्यकर्ता तथा तरुण युवाहलाई प्रशिक्षण दिई आगामी दिनहरुमा चारतारा झन्डा फहराउने र आउँदो चुनाव जित्ने संकल्पका साथ अभियानलाई नयाँ आयाम दिएको बताए । उनले नेपाली कांग्रेस र नेपाल तरुण दललाई नयाँ उचाइमा पु¥याउन योगदान दिने व्यक्तिहरुको स्मरण गर्दै संविधानको रक्षा गर्नु र ओली प्रवृत्तिबाट देशलाई जोगाउन कांग्रेसले आफनो काँधलाई दह्रो बनाउनुपर्ने बताए । ‘ कम्युष्टि सरकारले कोरोना भाइरसको महामारी र संकटको बेला पनि केही काम नगरेकोले नेपाली जनता सरकारबाटै पीडित भएका छन् । पीडाको उचाइ बनेको छ । सगरमाथा भन्दा पनि उचोँ बनेको पीडा व्यक्त गर्न पनि जनताले सकिरहेका छैनन् ।’ उनले भने ‘त्यसैले यो पीडाबाट मुक्ती दिलाउन ओलीलाई प्रधानमन्त्री पदबाट मुक्त गराई कांग्रेसले जिम्मेवारी बहन गर्नूपर्छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका नेता जीपछिरिङ लामाले कम्युनिष्टहरुलाई गाली गर्नुभन्दा कांग्रेस पार्टीमा फकाएर प्रवेश गराई आफ्नो संगठन बलियो पार्नतर्फ युवाहरुको ध्यान आकृष्ट हुनुपर्ने बताए । उनले भने ‘ तरुण दलमा आबद्ध युवाहरु अनुशासित, कर्तव्यनिष्ट हुनुपर्छ । कम्युनिष्ट युवाहरुभन्दा फरक हुनुपर्छ । कम्युनिष्टको बिरोध गरेर बस्नुभन्दा उनिहरुलाई फकाएर हाम्रो पक्षमा ल्याउनुपर्छ ।’ उनले आगामी महाधिवेशनलाई सफल पार्न कांग्रेसका नेता तथा कार्यकर्ताहरुले महत्वपूण भूमिका निर्वाह गर्नुपर्ने बताए । उक्त कार्यक्रममा ९ वटै स्थानीय तहका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता गरी ५ सय भन्दा बढीको सहभागीता रहेको छ । भोली अर्थात् चैत्र २७ मा तरुण युवाहरुलाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ । तरुण दल दोलखाका अध्यक्ष अध्यक्ष दावासाङ्गे शेर्पाका अनुसार प्रशिक्षणमा सहभागी हुने सम्पुर्ण युवाहरूलाई टि–सर्ट सहित खाने बस्नेको ब्यवस्थापन गरिएको छ ।

Shares

Be the first to comment on "ओलीले सपना देखे, देखाए तर काम गरेनन्ः शशांक कोइराला"

Leave a comment

Your email address will not be published.


*