ओलीले गरे अध्यक्ष र महासचिवबाहेक एमालेका पदाधिकारी खारेज

काठमाडौँ — सत्तारुढ नेकपा एमालेको पदाधिकारी खारेज गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमात्रै सहभागी भएको शुक्रबारको केन्द्रीय कमिटी बैठकले एमालेका पदाधिकारीलाई खारेज गरेको र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिए । एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए । भण्डारी राष्ट्रपति छन् भने अन्य उपाध्यक्षहरू माधवकुमार नेपाल निकटका रहेका छन् । त्यस्तै, नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षमा छन् भने पौडेल ओलीको पक्षमा छन् ।सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए ।एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई ओली पक्षले खारेज गरेर अगाडि बढेको हो । ‘आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय भएकाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाइएको हो,’ अधिकारीले भने ।माधवकुमार नेपाल पक्ष सहभागी नरहेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय लिएको छ ।

Shares

Be the first to comment on "ओलीले गरे अध्यक्ष र महासचिवबाहेक एमालेका पदाधिकारी खारेज"

Leave a comment

Your email address will not be published.


*