एम्बुलेन्स सेवा पाइएन? १०० नम्बरमा गरौँ फोन

इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २५
दोलखामा प्रहरी कन्ट्रोल १०० नम्बरमा सम्पर्क गरेमा अापतकालिन अवस्थामा एम्बुलेन्स सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाइने भएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द दोलखाको बैठकले ४ वटा एम्बुलेन्सलाई केन्द्रको मातहतमा ल्याउने र  प्रहरी कन्ट्रोल नम्बरमा सम्पर्क गरी सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाउने निर्णय गरेको हो । जिल्लामा कोभिड १९ का बिरामी बढीरहेको बेला अापतकालिन अवस्थामा सहज किसिमले एम्बुलेन्स सेवा उपलब्ध गराउन यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले बैठकका निर्णयहरु सार्वजनिक गरी जनाएको छ । च्छोरोल्पा अस्पतालको एम्बुलेन्स १, दोलखा सामुदायिक अस्पतालको एम्बुलेन्स १, विगु गाउँपालिकाको १ गजेन्द्र स्मृति फाउन्डेशनको १ वटा एम्बुलेन्स गरी जिल्लाका ४ वटा एम्बुलेन्सलाई व्यवस्थापन केन्द्रको मातहतमा ल्याई कोभिड डेडिकेटेड एम्बुलेन्सको रुपमा तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । उक्त एम्बुलेन्सले कोरोना प्रभावित बिरामीलाई अस्पताल ल्याउन र लैजाने सेवा प्रदान गर्ने छन् । उक्त एम्बुलेन्सहरुलाई बिरामी ओसारपसार गरेबापत प्रतिटिप भत्ता रकम जिल्लामा रहेको संयुक्त कोषबाट उपलब्ध गराइने भएको छ । दाेलखाका सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीका अनुसार काठमाडाैँ गएकाे प्रतिटिप १ हजार रुपैयाँ र स्थानीयस्तरकै अस्पतालमा बिरामी अाेसारपसार गरेबापत प्रतिटिप ५ सय रुपैयाँ प्राेत्साहन रकम चालकलाइ उपलब्ध गराइने छ । त्यसैगरी उनिहरुलाई व्यक्तिगत सुरक्षा कवचको पनि व्यवस्था गरिने र चालकहरुलाई संयुक्त कोषबाटै व्योहोर्ने गरी स्वास्थ्य बीमा समेत गरिदिने निर्णय गरिएको छ । साथै एबुलेन्स चालकले कोरोना संक्रमित बिरामी बोक्न आनाकानी तथा ढिलासुस्ती गरेमा त्यस्ता एम्बुलेन्सलाई जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको नियन्त्रणमा ल्याउने र त्यस्ता एम्बुलेन्सको दर्ता खारेजी सम्मका कारबाही गरिने बताइएको छ । त्यस्तै जिल्लामा तत्काल ४० वटा अक्सिजन सिलिण्डर र रेगुलेटर लगायतका सेट खरिद गरिने, जिल्लामा भएका खाली सिलिण्डरहरु चाँडै भर्न पठाउने, विभिन्न योजना तथा परियोजनमाहरुमा रहेका अक्सिजन सिलिण्डरहरुको विवरण जिल्ला प्रहरी कार्यालय मार्फत् संकलन गरी, त्यस्ता सिलिण्डरहरु तत्कालका लागी अस्पतालले प्रयोग गर्ने निर्णय बैठकमा गरिएको छ ।

Shares

Be the first to comment on "एम्बुलेन्स सेवा पाइएन? १०० नम्बरमा गरौँ फोन"

Leave a comment

Your email address will not be published.


*