एमाले अध्यक्ष ओलीद्धारा कालिञ्चोक केबलकारको उद्घाटन

इश्वर बिश्वकर्मा
चरीकोट, फागुन २१
जिल्लाको पर्यटकीय एवं धार्मिक स्थल कालिञ्चोकमा शुक्रबार औपचारिक रुपमा केबलकार उद्घाटन गरिएको छ । कालिञ्चोक दर्शन लिमिटेडद्वारा सञ्चालित केबलकारको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो । काठमाडौंबाट हेलिकप्टर मार्फत पत्नी राधिका शाक्य सहित कालिञ्चोक पुग्नुभएका ओलीले केबलकारको उद्घाटन गर्नुभएको हो । सो क्रममा उहाँले दर्शनार्थीको सहजता र सुविधाको लागि केबलकार सञ्चालन हुनु राम्रो कुरा रहेको सुनाउनुभयो । पत्रकारहरुले पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनबारे प्रतिक्रिया लिन खोज्दा ओलीले ‘पवित्रस्थलमा अन्य कुरा नगरौं’ जवाफ दिनुभएको थियो । कालिञ्चोकमा तीन घन्टा व्यतित गर्नु भएका ओलीले मन्दिरको दर्शन गर्नुका साथै हिमश्रृङ्खला सहितका दृश्यावलोकन गर्नु भएको कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी प्रमुख अशोक शिवाकोटीले बताउनुभयो । ओलीले केही समय केबलकारको यात्रा पनि गर्नु भएको प्रमुख शिवाकोटीले बताउनुभयो।

उहाँका अनुसार ५० करोड भन्दा बढी लगानी खर्चिएर स्थापित केबलकार उद्घाटन नहुँदै २०७५ कात्तिक १८ गतेबाट यात्रुलाई सेवा दिन थालिएको थियो। सञ्चालनमा आएको तीन बर्षपछि अवसर मिलेकोले औपचारिक उद्घाटन गरिएको हो । “ एमाले अध्यक्ष ओली शैलुङको कार्यक्रममा आउने तय भएपछि हामीले कालिञ्चोकमा पनि आउनको लागि अनुरोध गरेका थियौं। उक्त अनुरोध स्वीकारी केबलकारको उद्घाटनमा सामेल हुनुभयो । उहाँले भौगोलिक रुपमा जटिलतालाई केबलकारको सुविधाले मन्दिर आवातजावतमा दर्शनार्थीलाई सहज भएको भनेर प्रतिक्रया दिनुभएको थियो।“ कार्यकारी प्रमुख शिवाकोटीले भन्नुभयो । २०७५ मै केपी शर्मा ओलीद्धारा उद्घाटन गरिने कार्यक्रम तय भएको थियो । तर त्यो बेला विविध कारण सम्भव नभएपछि २०७६ सालमा उद्घाटन गर्ने उद्धेश्य थियो । कोरोनाको कारण पुनः उद्धेश्य अनुरुप हुन सकेको थिएन । तीन वर्षको अवधिमा कालिञ्चोकमा केबलकार मार्फत स्वदेशी तथा विदेशी नागरिकसहित २ लाख बढीले यात्रा गरेका छन् । विदेशी मध्ये सबैभन्दा बढी भारतीय नागरिक रहेको कार्यकारी प्रमुख शिवाकोटीले बताउनुभयो । उहाँले भन्नुभयो‘ केबलकारमा हालसम्म आएका विदेशी पर्यटक मध्ये भारतीय बढी रहेका छन्, अन्य देशका नागरिक पनि आएका छन् ।’ कालिञ्चोक दर्शनका लागि अन्य दिनको तुलनामा शुक्रबार र शनिबार लगायत बिदाका दिनहरुमा भक्तजनहरु आउने गरेका छन् । बिदाको दिन कालिञ्चोकमा भीड नै लाग्ने गरेको देखिन्छ । कुरीबाट कालिञ्चोक मन्दिरसम्म सञ्चालन हुने केबलकारमा लगानी बढी भएकोले यात्रुबाट केही मंहगो भाडा उठाउने गरिएको उहाँले स्वीकार्नुभयो । उहाँका अनुसार दुबैतर्फीका यात्राका लागि प्रतिव्यक्ति बराबर पाँच सय रुपैयाँ भाडा बापत लिइन्छ । उक्त शुल्क मंहगो भयो, भन्ने गुनासो पनि नआएका होइनन्, तर लगानी अनुसारको भाडा लिइएको कार्यकारी प्रमुख शिवाकोटी भन्नुहुन्छ । कालिञ्चोक दर्शनका लागि कुरी बजारसम्म गाडी मार्फत जान सकिन्छ । त्यसपछिको विकल्पमा पैदल हिँड्नु र केबलकारको यात्रा गर्नु हो । कतिपय हिंडेरै मन्दिर पुग्छन्, तर अधिकांश भने केबलकार मार्फत मन्दिर आउजाउ गर्छन् ।

केबलकार यात्रामा पाँच मिनेटमा मन्दिर पुगिन्छ । उकालो हुँदै हिंडेर जाँदा कम्तिमा दुई घण्टाको समय लाग्छ । हिंडेर जाँदा कतिपयलाई त लेक लाग्ने लगायतका समस्या उत्पन्न हुन सक्छ । ती समस्या र सास्ती नभोगी मन्दिर पुग्ने एउटै विकल्प भनेको केबलकार नै हो । केबलकार सञ्चालनमा आएपछि बालकालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति पनि सजिलै कालिञ्चोक सम्म पुग्न सक्ने अवस्थाको निर्माण भएको कार्यकारी प्रमुख शिवाकोटी बताउनुहुन्छ । उहाँका अनुसार उक्त व्यक्तिहरुलाई भाडामा २५ प्रतिशत छुटको समेत व्यवस्था रहेकोले खुशीका साथ कालिञ्चोक भगवतीसँग साक्षात्कारी गरी फर्कनुहुन्छ । चार वटा सञ्चालनमा छ, अहिले अझ व्यस्थित बनाउने थप संरचना थप्ने कार्य थालिएको उहाँले बताउनुभयो । समुद्री सतहबाट ३८ सय ४२ मिटरको उचाइमा अवस्थित कालिञ्चोक मन्दिर जिल्लामा मात्र नभई नेपालभर प्रसिद्ध छ।

Shares

Be the first to comment on "एमाले अध्यक्ष ओलीद्धारा कालिञ्चोक केबलकारको उद्घाटन"

Leave a comment

Your email address will not be published.


*