एमबाप्पेको ह्याट्रिकमा बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – युवा फरवार्ड कीलियन एमबाप्पेले सानदार ह्याट्रिक प्रहार गर्दा फ्रान्सेली च्याम्पियन पिएसजीले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा ४-१ को सानदार जित दर्ता गरेको छ ।

ईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले बार्सिलोनाविरुद्ध अवे लेगमा नै सुदृढ नतिजा निकालेको हो । खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिएपनि एमबाप्पेले सानदार प्रदर्शन गर्दै बार्सिलोनालाई घरेलु मैदानमा स्तब्ध पारे । पहिलो हाफमा बराबरी गोल फर्काएका एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए । मोइस किनले अर्को गोल थपे ।

खेलको २७ औं मिनेटमा मिडफिल्डर फ्रेन्की डे जोङ पेनाल्टी क्षेत्रभित्र डिफेन्डर लेभिन कुर्जावाको खुट्टामा अल्झेर लडेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै घरेलु टोलीलाई अघि बढाए । तर बार्सिलोनाको अग्रता ५ मिनेट पनि टिक्न सकेन ।

एमबाप्पेले पेनाल्टी क्षेत्र भित्र बल नियन्त्रण र फिनिसिङको उत्कृष्ट नमुना पेस गर्दै खेल बराबरीमा ल्याए । दायाँ विंगबाट आएको क्रसलाई मार्को भेराट्टीले एमबाप्पेतर्फ फ्लिक गरेपछि युवा फरवार्डले बल नियन्त्रणमा लिँदै लेंगलेटलाई छलाए र दोस्रो टच लिएर शक्तिशाली प्रहार गरेका थिए । एमबाप्पेको उक्त प्रहारलाई टेर स्टेगनले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ६५ औं मिनेटमा पिएसजीले एमबाप्पेकै गोलमा अग्रता लियो । फ्लोरेन्जीले दायाँ विंगबाट दिएको क्रस जेरार्ड पिकेले क्लियर गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र खाली रहेको बललाई एमबाप्पेले पहिलो टचमा नै गोल गरे ।

त्यसको ५ मिनेटपछि इटालियन फरवार्ड मोइस किनले अग्रता दोब्बर पारे । पारेडेसको फ्रिकिक बलमा किनले अफसाइड ट्रयाप बिट गर्दै गरेको हेडर स्टेगनले बचाउन सकेनन् । किनले डिफेन्डर लेंगलेटलाई झुक्याएर खाली रहेको अवस्थामा हेडर प्रहार गरेका थिए ।

खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे । बार्सिलोनाले पाएको कर्नरमा पिएसजीले काउन्टर अट्याकमा गोल गर्दै खेलमा बलियो पकड जमायो । जर्मन मिडफिल्डर जुलियन ड्राक्स्लरले दिएको अन्तिम पासलाई एमबाप्पेले पहिलो टचमा नै पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै ४-१ को जित पक्का गरे ।

अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ । चोटका कारण खेल गुमाएका ब्राजिलियन सुपरस्टार नेयमार पनि उक्त खेलका लागि उपलब्ध हुने सम्भावना छ ।

बार्सिलोनाले युरोपेली प्रतियोगितामा १ सय ५१ औं घरेलु खेल खेल्दा पहिलो पटक लगातार हार बेहोरेको हो । पिएसजी बार्सिलोनालाई घरेलु मैदानमा हराउने दोस्रो फ्रान्सेली टोली पनि बन्न सफल रहयो । पिएसजीले प्रतियोगिताको पछिल्लो २० अवे खेलमा लगातार गोल गर्दै रियल म्याड्रिडको २२ खेलको कीर्तिमाननजिक पुगेको छ ।

Shares

Be the first to comment on "एमबाप्पेको ह्याट्रिकमा बार्सिलोनाको लज्जास्पद हार"

Leave a comment

Your email address will not be published.


*