एकीकृत समाजवादी दोलखाका नेता रिजाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित (को हुन रिजाल ?)

चरिकोट(दीस)ः नेकपा एकीकृत समाजवादी दोलखाका नेता घनश्याम रिजाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको छ । गठबन्धनको तर्फबाट उमेद्वार हुनुभएका रिजाल विहिवार भएको निर्वाचनमा बागमती प्रदेशबाट विजयी हुनु भएको हो ।
निर्वाचनमा रिजालले ६ हजार ५ सय १२ मतभार प्राप्त गर्दै विजय हाँसिल गर्नु भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार ध्रुवराज विकले ३ हजार ५२ मत प्राप्त गर्नुभएको थियो ।
को हुन रिजाल ?
राष्ट्रिय सभा सदस्यमा निर्वाचित सांसद रिजाल दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर ६ का स्थायी वासिन्दा हुनुहुन्छ । वि.सं २०३७ सालमा जन्मिएका रिजाल हाल एकीकृत समाजबादी पार्टीको केन्द्रीय प्रतिनिधि परिषद्् तथा पार्टी निकट दलित मुक्ति संगठनका केन्द्रीय महासचिव हुनुहुन्छ । सुनचादी कला व्यवसायी संघका केन्दीय अध्यक्ष समेत रहेका रिजाल धन बहादुर रिजाल र आमा रुद्रमायाका जेष्ठ सुपुत्र हुनुहन्छ । एकीकृत समाजवादी दोलखाको १० औ जिल्ला अधिबेशन अघी उहाँ पार्टीको जिल्ला उपाध्यक्ष रहनु भएको थियो । रिजालले राजनैतिक यात्रा नेकपा एमालेबाट सुरु गर्नु भएको थियो । २०४९ सालदेखि नेकपा एमालेबाट राजनीतिक यात्रामा लाग्नु भएका रिजाल पछिल्लो पटक एमाले विभाजन पछि नेकपा एकीकृत समाजवादी पार्टीमा सक्रिय हुनु भएको थियो । राजनैतिकसँगै विभिन्न सामाजिक संघ संस्थामा सकृय रिजालले दोलखामा सफल व्यवसायीको परिचय बनाउनु भएको छ । उहाँ विभिन्न संघ संस्थामा अहिले पनि आबद्व रहनु भएको छ । दलित मुक्ति आन्दोलनमा उहाँले अग्रपंक्तिमा रहेर काम गर्दै आउनु भएको थियो ।
राष्ट्रिय सभामा ६ बर्षे कार्यकालका लागि निर्वाचित भएसँगै उहाँको संघिय संसदको यात्रा सुरु भएको छ  । दोलखाबाट यस अघि बेनीबहादुर कार्की(राष्ट्रिय सभाका तत्कालिन अध्यक्ष) तथा चन्द्रराज ढुंगेल पछि तेस्रो व्यक्तिको रुपमा रिजाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनु भएको छ । रिजाल सहित बागमती प्रदेशबाट गठबन्धनका चारै जना उमेद्वारहरु राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

Shares

Be the first to comment on "एकीकृत समाजवादी दोलखाका नेता रिजाल राष्ट्रिय सभा सदस्यमा निर्वाचित (को हुन रिजाल ?)"

Leave a comment

Your email address will not be published.


*