एकिकृत वस्तिका स्थानीयलाई जग्गाधनी पूर्जा

नवराज शिवाकोटी, चरिकोटः दोलखाको भीमेश्वर नगरपालिकाको वडा नम्बर एकमा निर्माण भएको पानीपोखरी एकिकृत बस्तीका स्थानीयहरुलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी जग्गाधनी पूर्जा वितरण गरिएको हो ।
जग्गाधनी पूर्जा वितरण समारोहमा एकिकृत बस्तीका ५६ घरधुरीलाई भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले मंगलवार एकिकृत बस्तीमै पुगी जग्गाधनी पूर्जा वितरण गर्नुभयो । जग्गाधनी पूर्जा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मेयर मानन्धरले एकिकृत बस्तीमा खानेपानीको समस्या भएको गुनासो आएकोमा त्यस्को समाधान गरिदिने बताउनुभयो । साथै एकिकृत बस्ती सुनसान नपारी रोजगार मूलक काममा संलग्न हुन उहाँले आग्रह गर्नु भयो ।
सोही समारोहमा मालपोत कार्यालय दोलखाका प्रतिनिधि लेखनाथ चौलागाईंले सो बस्तीका घर धनीहरुका श्रीमान श्रीमतीकै नाममा संयुक्त जग्गाधनी पूर्जा निर्माण गरिएको तथा दश वर्ष सम्म जग्गाको स्वामित्व हस्तान्तरण गर्न नपाईने जानकारी दिनुभयो ।आम विनासकारी भुकम्प २०७२ मा वडा नम्बर एकको बोसिम्पा गाउँ तथा चानपुजेका स्थानीयहरुको घर भत्किई जग्गासमेत चिरा–चिरा परेपछि भू–गर्भ विदले ति ठाउँहरु बस्न अयोग्य बनेपछी स्थानीय पानिपोखरी चौरमा स्थानीयलाई एकिकृत बस्ती निर्माण गर्ने पूनर्निर्माण प्राधिकरणले निर्णय गरेको थियो । आवश्यक भौतिक पूर्वाधारको विकास गरेपछि सो ठाउँमा भवनहरु बनाईएको थियो ।२०७६ सालमा एकिकृत बस्ती निर्माणकालागि जग्गा उपलब्ध गराउने तथा स्थानीयलाई लालपूर्जा उपलब्ध गराउने निर्णय गरिएको थियो ।
आफूहरुले लालपूर्जा पाएपछि बल्ल घर आफ्नै भए जस्तो लागेको एकिकृत बस्तीकी ७६ वर्षीय बुधमाया थामीले बताउनुभयो । पानीको समस्या भएको गुनासो गर्दै उहाँले आफूहरुको वसाई सहज बनाउन नगरले पानीको ब्यवस्था मिलाई दिन आग्रह गर्नु भयो ।एकै आकार प्रकारका ५६ वटा तीनकोठे भवन एकिकृत बस्तीमा निर्माण गरिएको छ । यसैगरी सार्वजनिक हल तथा खुल्ला क्षेत्रसहितका संरचनाहरु पनि सो बस्तीमा निर्माण गरिएको छ ।
जिल्लामा भुकम्प पछिको पूनर्निमाणका क्रममा भीमेश्वर नगरपालिका वडा नम्बर एक र वडा नम्बर चारमा एकिकृत नमुना बस्तीको निर्माण गरिएको थियो । सो मध्ये वडा नम्बर एकमा मंगलवार जग्गाधनी पूर्जा वितरण गरिएको छ भने वडा नम्बर चारको जिलु एकिकृत बस्तीको भने हाल सम्म जग्गाधनी पूर्जा वितरण हुन सकेको छैन । जिलु एकिकृत बस्तीको पनि पूर्जा निर्माण प्रकृयामा रहेको जिल्ला मालपोत कार्यालय दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "एकिकृत वस्तिका स्थानीयलाई जग्गाधनी पूर्जा"

Leave a comment

Your email address will not be published.


*