एकपक्षीय हतियार सुम्पिन दबाब दिए ट्रम्पसँगको बैठक रद्द गर्ने उत्तर कोरियाको धम्की

बीबीसी । अमेरिकाले बारम्बार आफूहरुलाई मात्र आणविक हतियार कार्यक्रम बन्द गर्न दबाब दिइरहेमा ट्रम्पसँगको बैठक रद्द गराउने उत्तर कोरियाले धम्की दिएको छ । आगामी जुन १२ मा सिंगापुरमा तय भइसकेको अमेरिका र उत्तर कोरियाली प्रमुखबीचको पहिलो वार्ताको तयारीमा अहिले दुवै देशका वरिष्ठ अधिकारीहरुबीच छलफल जारी छ ।

यस्तोमा कार्यक्रमको दिन नजिकीँदै गर्दा उत्तर कोरियाले सो धम्की दिनुलाई राम्रो संकेत मानिएको छैन । आक्रामक हुँदै मंगलबार उत्तर कोरियाका उप विदेश मन्त्रीले अमेरिकालाई अनुचित बयान दिइरहेको र आफूहरुले राम्रो उद्देश्यका साथ काम गरिरहँदा पनि अवरोध पुर्याएको आरोप लगाएका हुन् । उनले यसका लागि विशेषगरी अमेरिकाका नयाँ सुरक्षा सल्लाहकार जोन बोल्टनलाई दोष लगाएका छन् जो पहिलेदेखि नै उत्तर कोरियामाथि हमला गर्न आतुर रहँदै आएका छन् । मन्त्री किम क्ये ग्वानले भने, ‘हामी उनीप्रतिको असन्तुष्टि लुकाउन चाहदैनौँ ।’

उत्तर कोरियाले आफ्नो देशलाई हतियार मुक्त बनाउने घोषणा गरेपछि नै ट्रम्प र नेता किमबीचको भेतवार्ता कार्यक्रम तय गरिएको थियो । यससँगै उत्तर कोरियाले पनि विदेशी संचार माध्यमहरुकै अगाडि आणविक परीक्षण क्षेत्र नष्ट गराउने घोषणा गरिसकेको छ । यसै विषयमा उत्तर कोरियाको आधिकारिक संचार माध्यमले जारी गरेको किमको बयानका अनुसार ‘अमेरिकाले उत्तर कोरियाका प्रथमिकतालाई किनारा लगाएमा र बारम्बार एकतर्फी दबाब दिइरहेमा यसले वार्ताप्रतिको उनको लगाव कम हुँदै जानेछ र ट्रम्पसँगको वार्तामा पनि किम उपस्थित हुने छैनन् । ’ यसका साथै अर्को बयानमा किमले यस्तो भनेका छन्, ‘उत्तर कोरियाले अमेरिकाबाट धेरै ठूलो अपेक्षा गरेको थियो तर बैठककै अगाडि अमेरिकाको भड्काउ शैलीले अहिले हाम्रो उत्साह कम गराइ निराश भावना पैदा गराएको छ ।’

वास्तवमा उत्तर कोरिया अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासका कारण तनावग्रस्त बनेको बताइन्छ । उत्तर कोरियाले यसलाई नजरअन्दाज गर्न सक्ने भएपनि अमेरिकाले देखाएको दुव्र्यवहार र उक्साउने खालका गतिविधिले शान्ति स्थापनाको प्रयासलाई भङ्ग पारिरहेको उनीहरुको आरोप छ । आफ्नो कूटनीतिक नीति विपरित उत्तर कोरियाले पछिल्लो समय आणविक परीक्षणमाथि रोक लगाएको छ, तीन अमेरिकी कैदीहरुलाई मुक्त गरिसकेको छ , दक्षिण कोरियाका राष्ट्रपति मुनसँग शान्ति सम्झौतामा सहभागी भएको छ र अन्त्यमा आफ्ना परमाणु क्षेत्र नष्ट गराउन अन्तराष्ट्रिय मिडियालाई समेत निम्ता गरिसकेको छ । यस्तोमा उत्तर कोरियाका तर्फबाट धेरै ठूला प्रयासहरु जारी रहेपनि अमेरिकाले भने बारम्बार यी सबै गतिविधिको श्रेय आफैँलाई दिँदै आफ्ना कठोर प्रतिबन्ध र दबाबको परीणाम बताउने गरेको छ । त्यसकारण पनि यसअघि चुप लागिरहेको उत्तर कोरियाले अमेरिकामाथि सिधा प्रहार गरि सुरक्षा सल्लाहकार बोल्टनको खुलेआम विरोध गरेको बताइएको छ ।

Shares

Be the first to comment on "एकपक्षीय हतियार सुम्पिन दबाब दिए ट्रम्पसँगको बैठक रद्द गर्ने उत्तर कोरियाको धम्की"

Leave a comment

Your email address will not be published.


*