एउटै गाउँका ६५ जनाद्धारा सगरमाथाको सफल आरोहण

बाबुराम शर्मा ÷चरिकोट –हिमाली जिल्ला दोलखाको बेदिङ गाँउका ६५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् । तीन सय ११ जनसंख्या रहेको यो गाँउका छ जना महिला सहित ६५ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका आरोही दावाछिरी शेर्पाले जानकारी दिनु भयो । उहाँका अनुसार दोलखाको गौरीशङ्कर गाँउपालिका–९ मा पर्ने यो गाँउ च्छोरोल्पा हिमताल पदमार्गको मुख्य गन्तव्य समेत हो । यो गाँउमा ८३ घरधुरी रहेको छ । ६५ जना सगरमाथा आरोहीमध्ये अहिले नौ जनाको भने मृत्यु भइसकेको छ । यहाँका मिङ्माछिरी शेर्पाले सबैभन्दा बढी २० पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ । पेमाछिरीङ शेर्पाले १९ पटक, निमागोम्बु शेर्पाले १८ पटक र आफूले १३ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेको दावाछिरीले बताउनु भयो । हिमाल आरोहणको अन्तर्राष्ट्रिय गाइड समेत रहनु भएका मिङ्मा छिरी शेर्पाले बेदिङकै दावाटाँसी शेर्पा, पेम्बादोर्जे शेर्पा (ठूलो) र गेल्बु शेर्पा (मृत्यु भै सकेको) सहित सन् १९९७ मा नेपालबाट पहिलो पटक पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो शिखर केटुको समेत सफल आरोहण गरेका छन् । त्यसै गरी बेदिङकै मिङमा गेल्जेन शेर्पा, दावातेन्जिङ शेर्पा र किलि पेम्बा शेर्पाले जाडो सिजनमा विश्वमै पहिलो पटक केटु हिमालको सफल आरोहण गरेको आरोही दावाछिरीले बताउनु भयो । च्छोरोल्पा हिमतालको मुख्य गन्तव्य नाका र हिमआरोहिहरुको गाँउ भएकाले अहिले यो क्षेत्रमा पर्यटकहरुको चहलपहल निक्कै बढेको स्थानीयहरु बताउँछन् । बेदिङका वासिन्दा जाडो मौसममा ना गाँउमा बस्ने गर्छन् । अहिले बेदिङ र ना गाँउमा धेरै सुविधा सम्पन्न होटल र होमस्टे समेत सञ्चालनमा आएका स्थानीयको भनाइ रहेको छ । चिसो मौसममा अक्सिजनलगायतका समस्याका कारण धेरै पर्यटक र स्थानीय समेत बिरामी पर्ने गरेको तर प्रतिवन्धित क्षेत्र भनेर यो क्षेत्रमा सरकारले अनुमतिविना हेलिकोप्टर उडाउन नदिएकाले सडक मार्गले नछोएको यो ठाँउमा बिरामीलाई स्वास्थ्य केन्द्रसम्म पु¥याउन समस्या भएको आरोही? दावाछिरीले दुःखेसो पोख्नु भयो । पर्यटक तथा स्थानीय बिरामी परेर हेलिकोप्टर ल्याउन अनुमति लिँदालिदै अहिलेसम्म छ जनाको मृत्यु भै सकेको उहाँले गुनासो गर्नु भयो ।
बेदिङ र नामा अनुमतिविनै हेलिकोप्टर उडाउने व्यवस्था गर्न माउण्ट एभरेष्ट समिटर्स क्लब, गुम्बा व्यवस्थापन समिति र ठेमुलुङ सामुदायिक बन बेदिङले संयुक्त रुपमा दोलखाका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको माउण्ट एभरेष्ट समिटर्स क्लबका अध्यक्ष समेत रहेका आरोही दावाछिरीले बताउनु भयो ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बेदिङ वासिले हेलिकोप्टर उडाउने अनुमतिको विषयमा निवेदन दिएको भए तापनि त्यसको निर्णय गर्ने अधिकार स्थानीय प्रशासनको नभएकाले गृह मन्त्रालयमा निवेदन पठाउन लागिएको बताउनु भयो ।

Shares

Be the first to comment on "एउटै गाउँका ६५ जनाद्धारा सगरमाथाको सफल आरोहण"

Leave a comment

Your email address will not be published.


*