ऋण गरेर उद्योग स्थापना

ईश्वर बिश्वकर्मा /चरिकोट, – दोलखाको गौरीशंकर गाउँपालिका– ३ झ्याँकुका दुई युवा सफल उद्योगी बन्ने कसरतमा हुनुहुन्छ । यस अघि गाउँमा भेटेरिनरी प्राविधिकको रुपमा परिचित नवराज आचार्य र काठमाडौं स्थित हाउस वाइरिङको काम गर्ने राजन खड्का हाल उद्योगीको पहिचान बनाउन कस्सिनुभएको हो । झ्याँकु स्थित तल्लाबारी टोलका यी दुई युवा मिलेर सम्भवतः जिल्लामै पहिलोपटक एलइडी चिम उद्योग स्थापना गरी उत्पादन थाल्नुभएको छ । कोठा व्यवस्थापन, दर्ता प्रक्रिया र मेसिन तथा सामग्री ढुवानी लगायतका तयारी एक महिनामा गत मङ्सिरमा पुरा भयो । सम्पूर्ण तयारी गरिएपछि चरिकोटमा पुस चार गतेबाट चिम उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको हो । जसलाई उहाँहरुले सहारा चिम उत्पादन केन्द्र नाम दिनुभएको छ । सहकारी र व्यक्तिबाट गरी पाँच लाख रुपैयाँ ऋण काढेर स्थापना गरिएको चिम उत्पादन केन्द्रको प्रचारप्रसार गर्न सकेमा मनग्य आम्दानी हुने उहाँहरूको आशा छ । थोरै लगानीमा केन्द्र स्थापना गर्ने योजना बनाएको भएपनि गर्दै जाँदा बढेर सोचेभन्दा दोब्बर लगानी लागेको छ । लगानी बढेपनि गुणस्तरीय चिम उत्पादन तथा बिक्रीपछि सोही अनुसारको प्रतिफल मिल्ने आफूहरूले आश गरेको नवराज आचार्यले बताउनुभयो । एक साता बित्नै लाग्दा धमाधम चिम उत्पादन भएपनि बिक्री भने शून्य छ । नयाँ भएकोले यस्तो भएको हो । केन्द्र सञ्चालनमा आएको कुरा सबै समक्ष पु¥याई जिल्लाभर चिनाउन सकेमा उद्योग फस्टाउने छ । त्यसैले अहिले उत्पादनसँगै प्रचारमा जोड दिइएको नवराज आचार्यले सुनाउनुभयो । केन्द्रमा ५, ९, १२ र १५ वाटको चिम तथा विद्युत रहेको बेला स्वतः चार्ज हुने १२ वाटको चिम उत्पादन भइरहेको छ । बिक्रीका लागि चरिकोट, सिङ्गटी, जिरी लगायतका मुख्य व्यापारीक केन्द्रका इलेक्ट्रोनिक पसलमा सम्पर्क जारी छ । यद्यपि ती पसलहरूमा पनि बाहिरबाट ल्याइएको चिम मौज्दात रहेकोले त्यो सकिएपछि खरीद गर्ने आश्वासन पाइएको राजन खड्काले सुनाउनुभयो । चिम उज्यालोका लागि आवश्यक वस्तु हो । यसको उत्पादन जिल्लामै भएपछि बाहिरबाट महङ्गोमा खरीद गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । स्थानीयस्तरमै गुणस्तरीय चिम उत्पादन भएपछि बजारमा उपभोक्ताले सस्तो दाममा किन्न सक्ने र आवश्यकता परिपूर्ति गर्न सक्ने उहाँले बताउनुभयो । नवराजले भन्नुभयो, चिम उत्पादनमा कुनैपनि चुनौती छैन । तर ठूलो चुनौती भनेको चिम बिक्रीको हो । यद्यपि हाम्रो प्रयास निरन्तर छ। अहिले सफल उद्योगी बन्न कस्सिएका २५ वर्षीय नवराज कार्तिकसम्म गाउँपालिकाको वडा नम्बर ३ र ४ मा कार्यक्षेत्र रहने गरी भेटेरिनरी प्राविधिकको रुपमा करारमा कार्यरत हुनुहुन्थ्यो । तर २१ महिनाको करार अवधि सकिएपछि उहाँ लोक सेवाको तयारीमा लाग्नुभएको थियो । सोही बेला काठमाडौँमा हाउस वाइरिङ काम गरिरहनुभएको २० वर्षीय राजनले त्यहाँ सिकेको सीप आफ्नो जिल्लामै सदुपयोग हुने गरी उद्योग खोल्ने प्रस्ताव नवराज समक्ष राख्नुभयो । नवराजले पनि गाउँको छिमेकी भएकोले राजनको प्रस्ताव सहर्ष स्वीकार्नुभयो । त्यसपछि काठमाडौँबाट नयाँ उत्साहका साथ आफ्नै जिल्लामा फर्किनुभयो राजन । उहाँहरूको आपसी छलफल र संवाद पछि चरिकोटमा चिम उद्योग स्थापना गर्ने सहमति भयो । तर त्यसका लागि लगानी थिएन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ उहाँहरूले केही रकम सहकारीबाट ऋणमा लिनुभयो, भने त्यतिले मात्र नपुग्ने भएपछि साउबाट ऋण लिनुभयो । भारतदेखि चिम उत्पादनका लागि पाटपुर्जा, मेसिन मगाएर सबै बन्दोबस्त मिलेपछि उद्योग सञ्चालनमा ल्याउनुभएको हो । अहिले राजन चिम उत्पादनमा व्यस्त हुनुभएको छ । नवराज भने चिमको काम सिक्दै बजारीकरणमा लाग्नुभएको छ । नवराजले आफू उद्योगको कामसँगै लोक सेवाको तयारीमा पनि जुटिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अवसर अन्त खोज्नुभन्दा आफ्नै गाउँठाउँमा आफैले पनि सिर्जना गर्न सकिन्छ । गरे स्थानीयस्तरमै रहेर आयआर्जन गर्न सकिने कुरालाई शिरोधार्य गर्दै उद्योगतिर लागेका छु । तर लोकसेवाको तयारीलाई पनि त्यागेको छैन ।” जिल्लामै गुणस्तरीय चिम उत्पादन थालिएकोले आफूहरूलाई प्रोत्साहन हौसला तथा सहयोगको खाँचो रहेको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "ऋण गरेर उद्योग स्थापना"

Leave a comment

Your email address will not be published.


*