ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण

चरिकोट (दीक्षण समाचार): ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाढीबाट क्षतिग्रस्त क्षेत्रमा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शनिबार निरीक्षण गर्नुभएको छ। मन्त्री खड्कासहित जलस्रोत मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, र दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा मन्त्री खड्काले बाढीले क्षति पुर्याएको आयोजनाको मर्मतकार्य चाँडै थालेर विद्युत् उत्पादन पुनः सुरु गरिने बताउनुभयो। उहाँले सरकारका तर्फबाट यथाशीघ्र सहयोगको प्रतिबद्धता दोहोऱ्याउनुभयो।

गत असोज ११ र १२ गतेको अविरल वर्षाले आयोजनाको बाँध क्षेत्र र हेडवर्क्समा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको हो।

आयोजनाका अधिकारीहरूका अनुसार बाँधमा थुप्रिएको ढुङ्गा, बालुवा, र गिट्टी सफा गर्ने काम सकिएपछि तिहारपछि विद्युत् उत्पादन पुनः सुरु गर्ने योजना छ। यद्यपि विभिन्न संरचनामा ठूलो क्षति पुगेका कारण पूर्ण उत्पादन पुनः सुरु गर्न कम्तीमा ६ महिना लाग्ने अनुमान छ।

विद्युत् उत्पादन बन्द हुँदा दैनिक ४ करोड रूपैयाँ आम्दानी गुमिरहेको छ। यसअघि, २०७२ सालको भूकम्पका कारण लागत ३४ अर्बबाट ८९ अर्ब रुपैयाँ पुगेको थियो । अब बाढीका कारण थप २ अर्ब मर्मतमा खर्च हुने अनुमान छ। बाढीले कन्ट्रोलरूम पुरिदा नेपाली सेनाका दुईजना र तामाकोसी जलविद्युत् आयोजनाका दुईजना कर्मचारीको मृत्यु भएको थियो।

 

 

Shares

Be the first to comment on "ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण"

Leave a comment

Your email address will not be published.


*