उपनिर्वाचनको आन्तरिक तयारीमा जुटे दोलखाका प्रमुख दलहरु

चरिकोट (दीस) ः आगामी मंसिर १६ गते हुने गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनका लागि दोलखाका प्रमुख दलहरू आन्तरिक तयारीमा लागेका छन्। उनीहरूले मतदातालाई आकर्षित गर्न काठमाडौं राजधानी केन्द्रित कार्यक्रम गर्दै आएका छन्। संसदको ठूलो दल नेपाली कांग्रेसले हालसम्म आफ्नो उम्मेदवार औपचारिक रूपमा घोषणा गरेको छैन। तर, नेपाली कांग्रेसका विभिन्न कमिटीहरूले सो पार्टीबाट उपप्रमुखको उम्मेदवार पासदीकी शेर्पा तामाङलाई बनाउने निर्णय गरेको स्रोतले जनाएको छ। उहाँ तत्कालीन नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख श्यामसुन्दर तामाङकी पत्नी हुनुहुन्छ।
त्यसैगरी, संसदको दोस्रो ठूलो दल नेकपा एमालेले उमा शेर्पालाई उपप्रमुख पदका लागि उम्मेद्वार बनाउने निर्णय गरेको छ। नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटीको बैठकले सर्वसम्मत रूपमा शेर्पालाई उम्मेदवार चयन गरेको हो। उम्मेदवार छनोटका लागि उर्मिला थामीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदलले विभिन्न चरणमा पार्टीको वडा कमिटी र आकांक्षीहरूसँग छलफल गरी सर्वसम्मत रूपमा शेर्पालाई उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले पनि निर्वाचनका लागि आफ्नो उम्मेदवार चयन गरेको छ । पालिकास्तरीय बैठकले उपप्रमुख पदका लागि निमलेकी शेर्पालाई सर्वसम्मत रूपमा उम्मेदवारका रूपमा चयन गरेको थियो ।उहाँ नेकपा माओवादी केन्द्र गौरीशंकर पार्टीकी कोषाध्यक्ष हुनुहुन्छ र स्वास्थ्य स्वयंसेविकामा सक्रिय हुनुहुन्छ ।
नेकपा एकीकृत समाजवादी दोलखाले पनि गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको छ। सो पार्टीले शुक्रबार गौरीशंकर गाउँपालिका वडा नं ५, सुरिकी रविना खड्कालाई उपाध्यक्ष पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको हो । सो पार्टीले गौरीशंकरको विकासका लागि आधार तयार गर्न, जनताको समस्यासँग जुध्न, पालिकामा हुने भ्रष्टाचार र अनियमितताको अन्त्य गर्न तथा आत्मनिर्भर गाउँपालिका बनाउन योजनासहित अघि बढेको बताउँदै विजय सुनिश्चित भएको दाबी गरेको छ । उपनिर्वाचनका लागि अन्य राजनैतिक दलहरु तथा स्वतन्त्र व्यक्ति पनि तयारीमा लागेका छन् ।
गौरीशंकर गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ निर्वाचित हुनु भएको थियो। श्यामसुन्दर तामाङको गत वर्ष हृदयघातका कारण निधन भएको थियो । उहाँको निधनपछि उपप्रमुख पदमा निर्वाचन हुन लागेको हो । जानकारहरूका अनुसार उपप्रमुख पदका लागि तीन दलबीच कडा प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।
निर्वाचन आयोगले मंसिर १६ गते गौरीशंकर गाउँपालिकासहित देशका विभिन्न स्थानीय तहमा प्रमुखदेखि वडा अध्यक्षसम्मका रिक्त पदका लागि निर्वाचनमार्फत जनप्रतिनिधि चयन गर्दैछ ।

 

 

Shares

ePAPER 2081/07/30

Be the first to comment on "उपनिर्वाचनको आन्तरिक तयारीमा जुटे दोलखाका प्रमुख दलहरु"

Leave a comment

Your email address will not be published.


*