उपचारका लागि सहयोग गरिदिन घतानीको अपिल

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २८
आठ महिना अघि गाडीको ठक्करबाट मेरुदण्ड भाँचिएपछि नेपालका विभिन्न अस्पतालमा उपचारका क्रममा करिब ५० लाख रुपैयाँ सक्कियो । तर उपचार खर्चमा सबै सम्पत्ति सकिएपछि नेपालमा उपचार सम्भव नहुने भन्दै विदेश जान डाक्टरले सुझाव दिए । ऋण काढेको ठूलो रकम खर्च गरेर पनि नेपालमा उपचार नभएपछि मेलुङ गाउँपालिका वडा नं ३ घ्याङका पुष्कर घतानीलाई असह्य पीडा भएको छ ।
२७ वर्षीय घतानी फेरी पनि पुरानै अवस्थामा फर्किन चाहनुहुन्छ तर नेपालमा उपचार भएन, विदेश गएर उपचार गर्न आर्थिक अभावका कारण सम्भव छैन । नेपालमा उपचारको क्रममा सबै सम्पत्ति सकिएर दयनीय अवस्थामा पुग्नुभएका घतानीलाई अब एउटै आशा बाँकी छ, मनकारी व्यक्तिले आफ्नो उपचारका लागि आर्थिक सहयोग गरिदिउन् ।

मेरुदण्ड भाँचिइ नशा चुँडिएर कम्मरमुनिको भाग नचल्ने भई थला पर्नु भएका घतानीले आफ्नो उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । “म पुरानै अवस्थामा फर्किन चाहन्छु । तर विदेश गएर उपचार गर्नुपर्ने भयो । उपचारका क्रममा नेपालमै ५० लाख सक्कियो । अब थप उपचारका लागि पैसा छैन ।” घतानीले भन्नुभयो “हामी सामान्य परिवारका मान्छेको लाखौँ खर्च भयो । तर मेरो उपचार भएन । म मर्नु कि बाँच्नुको स्थितिमा पुगिसकेँ । थप उपचारको लागि बेलायत जान डाक्टरहरूले सल्लाह दिएका छन् । यस्तो बेलामा तपाइहरुको सहयोगको खाँचो छ ।” अवस्था नाजुक भएका घतानीले संघसंस्था तथा मनकारी व्यक्तिलाई सहयोगको अपिल गर्नु भएको छ । उहाँले विदेशी अस्पतालमा उपचार खर्च बुझ्दा डेढ करोड रुपैयाँ लाग्ने देखिएको बताउनुभयो । “नेपालमै लाखौँ खर्च भइसक्यो । विदेशमा गएर उपचार गराउँदा करोडौँ लाग्ने देखिएको छ ।” उहाँले भन्नुभयो, “अब हामीले कसरी उपचार गर्न सक्नु ? म यतिकै रहे भने मेरो परिवारको बिचल्ली हुन्छ । अब आशा तपाईंहरू मनकारीकै छ ।” उहाँले लक्ष्मी बैंक पुल्चोक शाखाको खाता नम्बर ००७२४२८८१५३ रकम जम्मा गरेर सहयोग गर्न अनुरोध गर्नुभयो ।

२०७८ कार्तिक १५ गते सूर्यविनायकमा उहाँलाई कारले ठक्कर दियो । भुँईमा लड्नुभएको उहाँलाई तीव्र गतिमा आएको ट्याक्सीले पनि ठक्कर दिएपछि बेहोस हुनुभएको थियो ।  उहाँको बिएण्डबी अस्पताल, ललितपुरमा उपचारपछि साँगा स्थित इस्पाइनल अस्पतालमा उपचार भैरहेको छ । अस्पतालले अब नेपालमा उपचार नहुने भन्दै विदेश जान सुझाव दिएको छ । घतानीले आफूले क्षतिपुर्ति मागसहित अदालतमा मुद्दा दायर गरेको भएपनि ट्याक्सी चालकलाई अदालतले सफाइ दिएको भन्दै आपत्ति जनाउनुभयो । तर, कार चालकले भने क्षतिपूर्तिस्वरूप १५ लाख रुपैयाँ आफूलाई दिएको उहाँले सुनाउनुभयो । घतानी कामको सिलसिलामा भक्तपुर बस्दै आउनुभएको थियो । उहाँको श्रीमती सहित बालबच्चा रहेका छन् ।

Shares

Be the first to comment on "उपचारका लागि सहयोग गरिदिन घतानीको अपिल"

Leave a comment

Your email address will not be published.


*