उद्यमीलाई घरेलुको सहयोग

ईश्वर विश्वकर्मा /चरिकोट,–घरेलु तथा साना उद्योग कार्यालय दोलखाले गत आर्थिक वर्ष ६४ लाख ५० हजार बराबरको प्रविधि हस्तान्तरण गरेको छ । जिल्लामा दर्ता भई सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगलाई सतप्रतिशत अनुदानमा उपयुक्त प्रविधि हस्तान्तरण गरिएको हो । ती प्रविधि नेपाली कागज उद्योग, काष्ठ उद्योग, सिलाई उद्योग गरी एक सय १३ वटा उद्योगले प्राप्त गरेका छन् । हाते ट्याक्टर, कम्माइन मिल, च्यापकटर, विटर लगायतका १ लाख २५ हजार रुपैयाँ सम्मका प्रविधि दिइएको अधिकृत दिपक सिटौलाले बताउनुभयो । “ कोरोना महामारीको प्रभावमा उद्योगहरु संकटग्रस्त छन् । ती उद्योगहरु यसैपनि पुँजी, जनशक्ति र कच्चापदार्थको अभावमा थिए । त्यस्ता उद्योगलाई टेवा पु¥याउने हेतुले प्रविधि बाँडिएको हो ।“ उहाँले सुनाउनुभयो । उद्योगका लागि डेक्चीदेखी दुध बोक्ने क्यान सम्म हस्तान्तरण गरिएको बताउदै अधिकृत सिटौलाले सानो तथा ठूलो मूल्य पर्ने प्रविधि दिइएको बताउनुभयो । हस्तान्तरण गरिएका प्रविधिहरुको उपयोगिता केकस्तो भईरहेको छ । यसबारे जानकारी लिन समय समयमा अनुगमन गर्ने गरिएको छ । कार्यालयले गत वर्ष उद्यम लाग्न चाहने तथा उद्यम गरिहेका उद्यमीहरुलाईको क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम समेत सञ्चालन गरेको थियो । गत वर्ष पाँच वटा छोटा अवधीका तालिम सञ्चालन गरिएकोमा ७५ जना उद्यमी उत्पादन भएको कार्यालयले जिकिर गरेको छ ।
आठ सय भन्दा बढी उद्योग थपिए
कच्चा पदार्थ, पुँजी, प्रविधि र दक्ष जनशक्तिको अभाव झेल्दै आएका उद्योग व्यवसायलाई कोरोनाले अझ अधोगतिको बाटोतिर लगेको छ । यस्तो चुनौती बीच मनस्थितिलाई बलियो पारी सफल बन्ने उदेश्य सहित दोलखामा उल्लेख्य मात्रामा उद्योगहरु दर्ता भएका छन् । अनुकुल अवस्थामा त जसले पनि काम गर्न सक्छ तर प्रतिकुल अवस्थामा काम गरेर देखाउने सोच ती उद्योगीहरुको रहेको छ । कोरोना महामारी र निषेधाज्ञाका कारण विदेशबाट फर्किएका युवाहरुले स्वदेशमैँ उद्योग सञ्चालन गर्ने उद्धेश्यका साथ उद्योग दर्ता गरेका छन् । ती युवाहरुलाई सरकारले विषेश प्याकेजको व्यवस्था गनुपर्ने देखिन्छ । घरेलु तथा साना उद्योग कार्यालयमा गत वर्ष आठ सय ७५ वटा उद्योग दर्ता भएका छन्। तीमध्ये साना उद्योग एक सय र घरेलु उद्योग सात सय ७३ वटा दर्ता भएको अधिकृत दिपक सिटौलाले बताउनुभयो ।
जिल्लामा गत वर्ष अवधिमा आठ सय ३४ जनाले व्यक्तिगत उद्योग र २७ जनाले साझेदरारी उद्योग दर्ता गरेका छन् । कार्यालयमा दर्ता भएका उद्योग मध्ये कृषि तथा वनजन्य उद्योग सबैभन्दा बढी रहेका छन् । अन्य व्यवसायको तुलनामा कृषिजन्य व्यवसाय जोखिम कम हुने र सजिलै गर्न सकिने हुँदा यस उद्योगतर्फ आकर्षण बढेको पाइएको हो । जिल्लामा छ सय ८७ कृषि तथा वनजन्य उद्योग वटा दर्ता भएको छ । त्यसैगरी ७८ पर्यटनमुलक, ९३ वटा सेवामुलक उद्योग, १७ वटा उत्पादनमुलक उद्योग दर्ता भएको बताइएको छ । उद्योग दर्ताबापत १३ लाख ६ सय ८४ रुपैयाँ राजस्व संकलन भएको अधिकृत दिपक सिटौलाले बताए । जिल्लामा गत वर्षको अवधिमा ३६ वटा उद्योग खारेज भएका छन् । विभिन्न समस्याकाबीच ती उद्योगहरु उद्योगीको इच्छाले खारेज गरिएका हुन् । कतिपय अनुदान हत्याउने आशमा सञ्चालन भएका उद्योगहरु अनुदान नपाएपछि खारेज गरिएको पाइएको छ ।

Shares

Be the first to comment on "उद्यमीलाई घरेलुको सहयोग"

Leave a comment

Your email address will not be published.


*