इरानले इजरायलसँग आणविक वैज्ञानिक हत्याको बदला कसरी लिन्छ ?

एजेन्सी – इरानका आणविक वैज्ञानिक मोहसेन फखरीजादेको हत्याका लागि त्यहाँको सरकारले इजरायललाई दोषी बताएको छ । तर इरानले इजरायलविरुद्ध पूर्णकालीन युद्ध घोषणा गर्ने सम्भावना नरहेको एक इजरायली विज्ञको भनाइ छ ।उनका अनुसार, तेहरानले सीमित आक्रमण वा विदेशमा इजरायली कूटनीतिकर्मीको हत्याका रूपमा प्रतिशोध लिने सम्भावना छ ।फखरीजादेलाई १० दिनअघि भूउपग्रहबाट नियन्त्रित मशिन गन प्रहार गरेर हत्या गरिएको थियो । त्यसलाई कृत्रिम बौद्धिकताको उपयोग भएको थियो । इरानको एटोमिक रियाक्टर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दा वैज्ञानिकलाई हत्या गर्न इजरायलको मात्र हित हुने इरानको ठहर छ । इजरायलका अधिकारीहरूले फखरीजादेको हत्यामा आफ्नो कथित संलग्नताका विषयमा केही टिप्पणी गरेका छैनन् । तेहरानले चाहिँ कसूरदारहरूलाई सही समयमा उचित सजाय दिने बताएको छ । तेल अभिभ विश्वविद्यालयका भाइस रेक्टर डा इयाल जिस्सरका अनुसार, पहिलो सम्भावना भनेको इरानले इजरायलमाथि सीधै आक्रमण गर्ने छैन, बरू हेज्बोल्लाहलाई इजरायलविरुद्ध युद्ध गर्न लगाउनेछ । उक्त युद्धमा हेज्बोल्लाहले हाइफा र अन्य उत्तरी शहरहरूमा रकेट प्रहार गरेर धेरैजनालाई हताहत बनाउनेछ । उसले इजरायलको बन्दरगाह र ग्यास क्षेत्रलाई समेत तारो बनाउनेछ । केही विज्ञहरूले चाहिँ लेबनन, सिरिया, गाजा र इराकबाट इजरायलमाथि इरानले एकैपटक आक्रमण गराउन सक्ने र धेरै हताहती गराउने बताएका छन् । तर लेबनन ध्वस्त हुने हुँदा त्यसको सम्भावना नरहेको जिस्सर बताउँछन् । अर्को सम्भावना चाहिँ हेज्बोल्लाहले इजरायललाई तर्साउन सीमित आक्रमण गर्नेछ । यसको विकल्पका रूपमा इजरायलका कूटनीतिकर्मीको हत्या पनि इरानले गराउन सक्नेछ । यस्तो सम्भावनालाई विचार गरी इजरायलले संसारभरि आफ्ना दूतावास र मिसनको सुरक्षा बढाएको छ । जिस्सरका अनुुसार, धेरै महंगो नपर्ने भएकाले इरानले यो विकल्प छान्न सक्ने सम्भावना छ । यसका लागि तालिमप्राप्त एकजना भए पुग्छ र आक्रमण आफूले गराएको भनी जिम्मेवारी पनि लिइरहनुपर्दैन ।

 

Shares

Be the first to comment on "इरानले इजरायलसँग आणविक वैज्ञानिक हत्याको बदला कसरी लिन्छ ?"

Leave a comment

Your email address will not be published.


*