आयुर्वेदिक उपचारमा जेष्ठ नागरिक बिरामीहरुको आकर्षण

ईश्वर बिश्वकर्मा
चरिकोट, भदौ २७
भीमेश्वर नगरपालिका ५ माटीकी ब्रह्मा लक्ष्मी खड्का ८७ वर्ष की भइन् । उनको हातखुट्टा दुख्ने समस्या लामो समय देखि रहेको छ ।
उनले विभिन्न अस्पताल गई हजारौँ पैसा खर्च गर्दा पनि रोग निको नभएकोले अन्य अस्पतालका सेवाभन्दा आयुर्वेदिक उपचारप्रति विश्वास लाग्ने बताइन् । आयुर्वेदिक पद्धतिले उपचारका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र आएकी उनले बताइन् ।
उमेरले ७३ वर्ष पुगेकी कन्जोग शेर्पाको पनि ब्रह्मा लक्ष्मीको जस्तै हातखुट्टा दुख्ने, ढाड दुख्ने लगायतका रोग रहेको छ । उनले विभिन्न अस्पतालमा गएर रोग निदानका लागी औषधी खाए पनि रोग जस्ताको तस्तै रहेको बताइन् । रोग निको पार्न आयुर्वेद स्वास्थ्य केन्द्रमा आएकी शेर्पाले बताइन् ।
यस्तै समस्या लिएर दिनहुँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दोलखमा १० देखि १५ जना जेष्ठ नागरिक आउने गर्दछन् । केन्द्रले ६० वर्ष पुगेका बिरामीलाई विषेश प्राथमिकता दिने भएकाले केन्द्रमा दिनहुँ बृद्धाबृद्धहरु उपचारको लागी आउने केन्द्रका कविराज निरिक्षक बिमल कुमार श्रेष्ठले बताए ।
बृद्धहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी बृद्ध बिरामीहरुलाई स्नेहन, स्वेदन पद्धति लगायतका आयुर्वेदिक पञ्चकर्म बिधी अनुसार केन्द्रमा निशुल्क उपचार गरिने भएकाले जेष्ठ नागरिकहरु आकर्षित भएको उनले बताए । बृद्ध अवस्थामा शरिर कमजोर हुने भएकाले तन्दुरुस्त पार्न जटिबुटिजन्य भिटामिन वितरण हुने गरेको उनले बताए । मुख्यतया जोर्नी दुख्ने, हातखुट्टा पोल्ने, उच्च रक्तचाप, पेट रोग, लगायत रोगको उपचारको लागी बिरामीहरु आउने गरेका छन् ।
गत आर्थिक वर्ष भीमेश्वर नगरपालिकाका सबै वडामा करिब १६ सय नागरिकहरुसगैँ जेष्ठ नागरिकहरुका लागी शिविर आयोजना गरि आयुर्वेदिक उपचार सेवा दिएको श्रेष्ठले बताए ।
केन्द्रले आयुर्वेदिक उपचार पद्धतिलाई प्रभावकारी बनाउन सुत्केरी आमाको दुध बृद्धिका लागी जटिबुटिजन्य उपलब्ध गराउने उनले बताए । महिलाहरुमा महिनावारी समस्या, रगत बग्ने, सेतो पानी बग्नेजस्ता यौन रोगको निदानका लागी पिचु आयुर्वेदिक उपचार पद्धति अपनाइने श्रेष्ठले बताए । आयुर्वेद पद्धतिबाट केन्द्रले विभिन्न रोगको परिक्षणका साथै उपचार गरिने उनले बताए । उनले रोग लाग्न नदिनका लागी सन्तुलित खानपान, योग, ध्यान र व्यायाम गर्नुपर्ने बताए ।
केन्द्रले २०५६ सालदेखि उपचारात्मक सेवा, औषधी वितरण सेवा, जटिबुटीबारे जानकारी दिदैँ आएको छ । दोलखामा पछिल्लो केहि वर्षयता आयुर्वेदिक उपचारमा मानिसहरुको आकर्षण बढेको केन्द्रले जनाएको छ ।

Shares

Be the first to comment on "आयुर्वेदिक उपचारमा जेष्ठ नागरिक बिरामीहरुको आकर्षण"

Leave a comment

Your email address will not be published.


*