आमाहरुले स्तनपान गराउँदै गर्दा आफ्नो बच्चासँग अनगिन्ती सपनाहरु बुनिरहेका हुन्छन्

जानुका न्यौपाने –आजकाल आधुनिक आमाहरुले स्तनपान नगराउँने, स्तनपान गराउँदा आफ्नो शारीरिक बनावट र अनुहारमा असर पर्छ भन्ने गरेको पनि सुन्न र देख्न पाईन्छ । वास्तवमा यो सत्य र तथ्य भने होईन । त्यसकारण पनि यो स्तनपान सप्ताह मार्फत विभिन्न कार्यक्रमको माध्यमबाट सूचना सम्प्रेषण गर्ने उद्देश्यले नेपाल सरकारले यो कार्यक्रम देशव्यापी रुपमा सबै आयुर्वेद स्वास्थ्य केन्द्र, स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य संस्था मार्फत स्थानीयस्तरसम्म प्रभावकारी सन्देश प्रवाह गर्ने विविध कार्यक्रम गर्ने योजना बनाएर सञ्चालन गर्ने गरेको छ ।
नेपाल सरकारको सोही योजना अनुसार यस वर्ष “हामी सबैको साझा जिम्मेवारी ः स्तनपान संरक्षण हुन्छ प्रभावकारी” भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह विविध कार्यक्रमका साथ देशव्यापी रुपमा मनाउँन लागिएको छ । आमाको दूध शिशुका लागि जीवन धारा हो । यो हरेक वर्ष अंग्रेजी संवत अगस्ट १ देखि ७ सम्म नेपालमा पनि मनाईन्छ । कुनै पनि महिलाका लागि सबैभन्दा सुखको क्षण भनेकै उनी आमा बन्दाको अवस्था हो । यो अवस्थालाई एक विशेष अवस्था मानिन्छ । यो महिलाको विशेष प्रजनन अधिकार हो ।
बच्चा जन्मिसकेपछि पनि आमा तथा शिशुलाई अत्यन्तै ख्याल गर्नु पर्छ । नत्र आमा र शिशुको ज्यान जोखिममा पर्न सक्छ । त्यसकारण अनिवार्य स्वास्थ्य संस्थामा प्रशुती सेवा लिनुपर्छ भन्ने सन्देश पनि हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बन्न थालेको हुन्छ पहिलो बिगौती दूध बच्चाको लागि अमृतसमान हुन्छ । उक्त विगौती दूधले बच्चालाई धेरै रोगहरुसँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । स्तनपान गराउँदा शिशु स्वस्थ हुने एउटा पाटो त छँदै छ अर्को पाटो आमा र शिशु बीच भावनात्मक हिसाबाले उत्तिकै घनिष्टता हुने गर्छ । हरेक महिलाका लागि आमा बन्नु संसारको त्यो खुशी हो जुन खुशी कहिल्यै कसैसँग व्यक्त गर्नै सकिँदैन भने स्तनपान गराउनु पनि त्यत्तिकै सुखद पल हो । हरेक आमाले आफ्नो बच्चालाई पहिलो पटक स्तनपान गराउँदा ती लाजहरु सबै बिर्सिएर जुन स्तनलाई आमाहरुले पहिले लुकाएर राखिने गरिन्छ । तर, जब आफू आमा बनिन्छ तब सबै लाजहरु हराउँछन् । स्तनपान गराउँदै गर्दा आफ्नो बच्चासँग अनगिन्ती सपनाहरु बुनिरहेका हुन्छन् । स्तनपानले एउटा गहिरो प्रेममा विलिप्त बनाउँने गर्छ । त्यही कारणले आफ्नो सन्तानलाई हरेक महिलाले स्तनपान गराउन त्यत्तिकै महत्वपूर्ण मानिन्छ ।
स्तनपान गराउँदाका फाइदा पनि धेरै छन् । आमाको दूध मात्रै पोषणको लागि नभएर जीवनको धारा हो । यसले आमा र बच्चाहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ र सम्बन्धलाई पनि । शिशुलाई जन्मदेखि छ महिलासम्म स्तनपान मात्र गराउनु पर्छ । यो शिशुको जीवनको लागि जरुरी छ । किनकी आमाको दूध सुपाच्य हुन्छ र यसले पेटको गडबडीको पनि डर हुँदैन । आमाको दूधले शिशुको शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनमा पनि अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्तनपानले दम र कानको रोगमा नियन्त्रण गर्न सहयोग गर्छ । आमाको दूध अमृत समान हुन्छ जसले शिशुको नाक र घाँटीमा प्रतिरोधी छाला निर्माण गर्छ । कतिपय शिशुलाई जन्मनासाथ गाईको दूध खुवाउनाले खराबी हुने सम्भावना हुन्छ । तर, सबैलाई यस्तो भने हुँदैन त्यसो भएपनि आमाको दूध शतप्रतिशत सुरक्षित छ । अनुसन्धानबाट प्रमाणित भएको छ कि स्तनपान गर्ने बच्चाहरु त्यसपछि अन्न खुवाउँदा पनि असुहाउँदो मोटो वा पातलो हुँदैनन् । त्यसकारण पनि शिशुहरुलाई स्तनपानको कारण शुरुदेखि नै आवश्यकता भन्दा अधिक खाना खुवाउने र खाने बानी पर्दैन । स्तनपानबाट शिशुको जीवनको पछिल्लो चरणहरुमा रक्त क्यान्सर, मधुमेह र उच्च रक्तचापको खतरा कम हुन्छ । स्तनपानले शिशुको वौद्धिक क्षमता पनि वृद्धि विकास हुन्छ । स्तनपानले गर्दा स्तनपान गराउने आमा र उनको शिशुको बीच भावनात्मक सम्बन्ध धेरै मजबुत हुन्छ । यस बाहेक आमाको दूधमा धेरै प्रकारको प्राकृतिक रसायन पनि प्राप्त हुन्छ । शिशुलाई स्वस्थ र तन्दुरुस्त पार्ने सबभन्दा उत्तम आहार आमाको दूध नै हो ।
स्तनपानले सुत्केरी भैसकेपछि रगत जाने प्रक्रियालाई पनि रोक्छ । स्तनपानले बच्चालाई मधुमेह, क्यान्सर, पखाला र निमोनिया जस्ता रोग र संक्रमणबाट बचाउँछ । दूधबाट आमाको रोग प्रतिरोधात्मक शक्ति बच्चामा सर्छ । स्तनपानले आमालाई क्यान्सर र हड्डी कमजोर (ओस्टेओपोरोसिस्) हुने रोगबाट जोगाउँछ । यसरी स्तनपान गराउनाले आमा र बच्चा दुबैलाई अत्यन्तै राम्रो फाईदा हुन्छ त्यसकारण पनि नियमित स्तनपान गराउनु आवश्यक छ । आमाको दूधले जहिले पनि बच्चाका लागि सफा, सही तरिकाले तापक्रम बनाईरहेको हुन्छ । स्तनपानले आमा र बच्चालाई आत्मीयता र सुरक्षित भएको अनुभूति दिन्छ । कतिपय महिलालाई चाँडै गर्भवती हुनबाट बचाउँछ । कोही कसैलाई लाग्न सक्छ स्तनपान गराउँदा आफ्नो अनुहार बिग्रन्छ भन्ने डरले स्तनपान नगराउँने गरेको पनि बताउँछन् । तर, त्यो भने सत्य होईन । अर्को महत्वपूर्ण पक्ष भनेको स्तनपान गराउँदा खर्च पनि लाग्दैन ।
स्तनपान गराउने आमाले सुत्केरी अवस्थामा विशेषगरी त्यस अवस्थाबाट राम्रारी उठ्न, बच्चाको राम्रो हेरचाह गर्न र तिनले गर्नुपर्ने कामहरु गर्नका लागि राम्ररी खानुपर्छ आफ्नै गाउँघरमा सहजै पाउने पोषणयुक्त खानेकुराहरु खनुपर्छ । यस्तो समयमा विशेषगरी प्रोटिन तथा चिल्लो पदार्थयुक्त खानाका साथै प्रशस्त सागसब्जी र फलफूलको आवश्यकता पर्दछ । परिवारका सदस्यहरुले विशेष रेखदेख गर्नु आवश्यक छ । उनीहरुलाई सफा पानी, दूध, ज्वानोको झोल, सूप र ताजा जुस, झोलिलो खानेकुरा धेरै खानदिनु पर्छ । यस्ता जुस, झोल जस्ता तरल पदार्थ पनि प्रशस्त चाहिने हुन्छ । यी विभिनन आहारले आमाको शरीर दरीलो बनाइरहेको हुन्छ । स्तनपान गारउँन कुनै पैसा खर्च हुँदैन । यदि सम्भव हुन्छ भने शिशुको निमित्त दूध किनेर खुवाउन गरिने पैसाले आमाले आफ्नो आहारमा सुधार गर्नु पर्छ । अतिरिक्त प्रोटिनका लागि सिमी, बिऊ हुने फल, अण्डा, दूध, दही, चीज, माछामासु आदि रुची अनुसारको खानेकुराहरु खानु पर्छ ।
केही मान्छेहरुमा खास–खास प्रकारका खानाहरु खानु नहुने र बच्चाले पहिलो दूध खानु हुँदैन भन्ने खालका गलत अवधारणा पनि बाँकी रहेको पाईन्छ । तर त्यसो भन्नेहरु सन्तुलित खाना नपाएर उनीहरु कुपोषण, रक्तअल्पता तथा अन्य जटिल समस्याका शिकार भएका र कयौंको ज्यान पनि गईरहेको अवस्था विद्यमान छ नेपालमा । गाउँघरमा अझै पनि स्तनपान गराउने आमालाई बोलाएर सबैले पालैपालो विशेष खाना खुवाउने चलन छ खास पोषणयुक्त खाना खुवाउने चलनलाई राम्रो र सकारात्मक मान्नुपर्छ । असल आहारले सुत्केरी भएपछिको शरीरलाई चाँडै तङ्ग्रयाउँछ । त्यसकारण हरेक आमाहरुले आफ्ना शिशु, बच्चाहरुलाई शुरुदेखि नै नियमित स्तनपान गराउनु आमा बच्चा दुबैका लागि फलदायी छ । यसलाई सबै आमाहरुले मनन् गर्नुहुनेछ । यही मेरो स्तनपान सप्ताहको शुभकामना ।

Shares

Be the first to comment on "आमाहरुले स्तनपान गराउँदै गर्दा आफ्नो बच्चासँग अनगिन्ती सपनाहरु बुनिरहेका हुन्छन्"

Leave a comment

Your email address will not be published.


*