आफ्नै विज्ञहरुको प्रयोग गरेर गौरीशंकर संरक्षण क्षेत्रले हिमचितुवा पत्ता लगायो

चरिकोट (दीस)– दोलखाको गौरीशंकर संरक्षण क्षेत्रले अर्को सफलता पाएको छ । विश्वमै दुर्लभ मानिएको हिमचितुवा दोलखाको रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमताल आसपासमा फेरि भेटिएको आज पत्रकार भेटघाट गर्दै संरक्षण बताएको छ ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजना जीक्यापले गौरीशंकर गाउँपालिका–९, रोल्वालिङ उपत्यकाको च्छोरोल्पा हिमताल आसपासमा गरेको क्यामेरा ट्रयापिङबाट संरक्षण क्षेत्र भित्र दोस्रोपटक हिमचितुवा भेटिएको जनाएको छ ।
रोल्वालिङ उपत्यकामा १२ ओटा इन्फ्रारेड प्रविधिको सेन्सरयुक्त क्यामेरा जडान गरी ७ महिना अघि थालिएको अनुसन्धानमा दोस्रोपटक हिमचितुवा भेटिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले बताए । २०७६ जेठदेखि २०७६ मंसिरसम्म गरिएको अध्ययनले सामुन्द्रिक सतहबाट ४५३६ मिटर माथि हिमचितुवाका तीनपटक तस्विर खिचिएको प्रमुख शाहको भनाई छ । असार १५, भदौ २२ र २६ गते गरी एउटै हिमचितुवाको ३ पटक भेटिएको प्रमुख शाहले जानकारी दिए ।

नेपालमा संरक्षित गरिएको २७ ओटा वन्यजन्तु तथा पंक्षिमध्ये रोल्वालिङ उपत्यका क्षेत्रमा हिमचितुवा सहित ७ ओटा संरक्षित जन्तु र पंक्षि भेटिएको शाहले जानकारी दिए । क्यामेरा ट्रयापिङमार्फत ५ ओटा र मानवीय स्रोतबाट २ गरी ७ संरक्षित वन्यजन्तु भेटिएको हो । रोल्वालिङ उपत्यकामा पहिलोपटक ब्वाँसो रर रेडपाण्डा भेटिएको छ ।

पहिलोपटक जीक्यापको आफ्नै विज्ञहरुको प्रयोग गरेर सो अनुसन्धान गरेको छ ।
यसअघि करिब ७ महिनाअघि तिब्बतसँग सिमाना जोडिएको लप्ची उपत्यकामा क्यामेरा ट्रयापिङमार्फत भाले जातको हिमचितुवा भेटिएको संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

Shares

Be the first to comment on "आफ्नै विज्ञहरुको प्रयोग गरेर गौरीशंकर संरक्षण क्षेत्रले हिमचितुवा पत्ता लगायो"

Leave a comment

Your email address will not be published.


*