आफ्नै लगानीमा नमूना बाँझो जग्गामा सबैभन्दा ठूलो नर्सरी,

दोलखा, –दोलखाको वैतेश्वर गाउँपालिका वडा नं. ३ यार्साका पदमबहादुर खत्रीको दैनिकी अधिकाँश समय वन भित्रका बोटविरुवा स्याहार सुसारमै वित्छन् । यसरी वनजंगल भित्रको रुख
विरुवा स्याहारसुसारमा दिनचर्या वित्न थालेको दशक वित्न लागे । तर अझैं वनको स्याहारबाट सन्तुष्टि हुन पुगेको छैन, त्यसैले यसैबाट आफू समग्र गाउँको समृद्धिको सपना देख्छ् ।
चरिकोटबाट जिरी पुग्दा मैनापोखरी बजारबाट मात्र ४ किलोमिटरको सडकमार्गमा यार्सा पुगिन्छ । यार्साबाट थप एक किलोमिटर माथि पुगेपछि जंगलभित्र एक मेहेनती किसान दिनरात जंगलमै खटिरहन्छन् । यार्साबाट जिरी नगरपालिका वडा नं. ८ लहरेमानेहुँदै खावाबाट जिरी पुगिन्छ । यो सडकबाट धेरैले सम्वृद्धिको नारा दिंदै भ्रमण गर्नेहरुको बेलाबेलामा लर्को लाग्छ । तर त्यही यार्साको जंगलभित्र एक किसान एक दशकदेखि वनभित्रै संवृद्धि देखेर रमाइरहेका छन् ।
धेरै युवाहरु रोजगारीका लागि विदेशी रहेका छन् । खेतबारी खेती नगरेर बाँझो भइरहेका छन् । देशको चिन्ता पनि बाँझो जग्गालाई कसरी व्यवस्थित गर्ने भन्ने छ । तर यार्साको बाँझो ७० रोपनी जग्गालाई उपयोग गरेर पदमबहादुर खत्रीले कृषिवन नर्सरी संचालन गर्दै आएका छन् ।

बाँझो जग्गा भाडामा
पदमले जिल्ला वन कार्यालयबाट २० वर्ष अघि सामान्य नर्सरी व्यवस्थापन सम्बन्धि तालिम पाए । बोटविरुवा र नर्सरीप्रति चासो राख्ने पदमलाई त्यही तालिम नै सजिवनी जडिबुटी जस्तै बन्यो । तब उनले आफ्नै ठाउँमा पनि जंगललाई नै जडिबुटी नर्सरी गर्न सकिन्छ भन्ने अठोट साथ सुरु गरे नर्सरी । उनको नर्सरीमा जति पनि नर्सरीका विरुवा छन् अधिकाँश लोपोन्मुख जडिबुटी हुन् ।
पदमले नर्सरी सुरु गर्दा केही आफ्नो जग्गा र केही रोपनीपछि जोडे । पुख्र्यौंली जग्गा सहित आफूले जोडेको सहित ३० रोपनी जग्गा आफ्नो बनाए । खेती नगरेर गाउँका केही व्यक्तिले बाँझै छाडेको जग्गा उनले सस्तोमै लामो अवधीको लागि भाडामा लिएका छन् ।
नर्सरी ७० रोपनी क्षेत्रमा छ तर त्यसमध्ये ४० रोपनी जग्गा त अर्काको बाँझो जग्गा भाडामा लिएर प्रयोग गरेका छन् । त्यो भाडामा लिएको जग्गा पनि लामो अवधीका लागि लिएका छन् । ठूलो नर्सरी क्षेत्र छ तर त्यसको स्याहारमा आजभोली एक्लै रहेको बताउँछन् । एक्लै हुँदा सबैको स्याहार पुग्नै नसकेको बताउँछन् ।

आफ्नै लगानीमा नमूना नर्सरी साँच्चै नमूना
यार्साबाट उकालो खावातिर जाँदा सडक छेऊमै जंगलभित्र एउटा नमूना जडिबुटी नर्सरी प्रालि नामको बोर्ड देखिन्छ । यो नर्सरी उनै पदमको हो । बाहिरबाट हेर्दा सामान्य जंगल जस्तै लाग्छ तर काँडे तारले घेरिएको जंगलभित्र छिरेपछि देखिन्छ भित्रको वनको महत्व ।
मुख्य सडक नपरेकाले धेरैलाई उनको नर्सरीको बारेमा जानकारी नहुन सक्छ । खावा–लहरेमाने–यार्सा कच्ची सडक हुँदै कोही ओहोर दोहोर गर्नेका लागि सामानय जंगल जस्तो लाग्न सक्छ । तर जब नमूना नर्सरीको घेराबार भित्र छिर्छ तब जोकोहीलाई लाग्छ नाम जस्तै साँच्चै नमूना । उनको नर्सरी साँच्छै कुनै वन विज्ञान अध्ययन गर्ने विश्वविद्यालयभन्दा कम छैन ।
पदमको नमूना नर्सरीमा ३० जातका जडिबुटीहरुको रहेका छन् । विशेष गरी ढ्याँग्रे (लोडसल्ला), सतुवा, अर्गेली, विभिन्न प्रजातिका सुनाखरी उनकोमा पाइन्छ । उनको नर्सरी भित्र भएका हरेक रुखमा सुनाखरी देख्न पाइन्छ । संसारमा पाइने ४ सय ५७ जातको सुनाखरी मध्ये आफ्नो नर्सरीमा ५० जातको रहेको उनले दाबी छ ।
अमेरिकन, रातो र सेतो गरी ३ जातको लोडसल्लो पाइने उनले बताए । ति सबै जातको लोडसल्ला छन् । लोडसल्लाबाट क्यान्सरको औषधी बनाउन प्रयोग हुन्छ । सतुवा लोपोन्मुख जडिबुटी हो । तर उनले त्यसको पनि नर्सरी सहितको खेती गरेका छन् । उनले ७ वर्ष त सतुवामै अध्ययन गरी सके ।
सतुवा र लोडसल्लाको नर्सरीका लागि रसुवा, काभ्रेपलाञ्चोक, रामेछाप, लमजुङ लगायतका जिल्लामा प्रशिक्षककै रुपमा पुगेका छन् । किबी खेती र किबीका नर्सरी समेत छ । कुनै पनि नयाँ जातका विरुवा र जडिबुटी देख्ने र सुन्ने वित्तिकै आफ्नो नर्सरीमा ल्याएर अध्ययन गर्ने पदमको नर्सरीमा मौरी पालन समेत छ । जंग चरनक्षेत्र प्रयाप्त हुँदा मौरीपालनमा समेत सहज भएको छ । समेत उनको नर्सरीमा छन् ।
अलैंची र विभिन्न जातका फूलहरुको विरुवा पनि छन् । तर अलैंचीको माग समेत घटेपछि उनको नर्सरीमा समेत हजारौं विरुवा खेर गएका छन् । फूलहरुका गमला र विरुवा पनि बिक्री वितरणमै वितेका छन् ।

विश्वविद्यालयका विद्यार्थी पनि पदमका विद्यार्थी
पदम पढाईमा विश्वविद्यालयबाट औपचारिक डिग्री हाँसिल गरेका व्यक्ति त होइनन् । तर उनको लामा समयको लगातारको अध्ययन र अनुसन्धानले उनेको व्यवहारिक ज्ञानलाई भरिदिएको छ । अहिले उनको नर्सरीमा वर्षेनी विश्वविद्यालयका वन विज्ञान अध्ययन गर्ने विद्यार्थीहरु आउँछन् । ति विद्यार्थीहरुलाई उनले सिकाउँछन् ।
केही वर्ष अघिसम्म ४ जनासम्मलाई नर्सरीमा रोजगारी दिएका थिए । त्यसबेला नर्सरीका बोटविरुवाको प्रयाप्त हेरविचार र रेखदेख हुन्थ्यो । तर नर्सरीका उत्पादनहरु अर्गेली, ढ्याग्रे सल्लाको पातले बजार नपाएपछि आफू आर्थिक संकटमा परेर काम गर्नेहरुलाई तलब समेत दिन नसकेपछि उनीले छाडेको गुनासो गर्छन् । कहिलेकाँही वन तथा जडिबुटी अध्ययन गर्न विश्वविद्यालयका विद्यार्थीहरु आउँछन् । बसेर अध्ययन गर्छन् ।

छैन सरकारी अनुदान
“नर्सरी भित्र अहिले करोडौंको जडिबुटी र विरुवा छन्” उनले भने “तर उचित बजार नपाएपछि त्यत्तिकै छन् ।” अहिले आफ्नो सामान्य व्यक्तिगत खर्च समेत चलाउन मुस्किल पर्छ । कामै नगर्नेका लागि सरकारले अनुदान लगायतका खर्च गर्छ । तर आफूले त्यस्तो सरकारको कुनै पनि सहयोग नपाएको बताउँछन् ।
पदमको नमूना नर्सरी हेरेपछि सरकारी अधिकारीहरु प्रभावित हुन्छन् । त्यहाँ त सहयोग गर्ने प्रतिबद्धताको आश्वासन पनि दिन्छन् । तर नर्सरीबाट बाहिर निस्केपछि सबै विर्सन्छन् । बेला बेलामा सहयोगको आश्वासन आउने भए तापनि त्यो पनि उही सरकारी कर्मचारीलाई पनि रिजाउनु पर्ने बाध्यता भएको उनले बताए ।
लोठसल्ला, ढ्याङ्ग्रे सल्ला लगायतको नर्सरीका लागि विभिन्न जिल्लामा तालिमका लागि भने उनलाई प्रशिक्षकका रुपमा सरकारी अधिकारीहरुले नै समन्वय गराउँछन् । विभिन्न ठाउँमा प्रशिक्षण वापत पाएको पारिश्रमिकबाटै अहिले आफ्नो दैनिक खर्च चलाउँदै आएको बताउँछन् ।
पदमको नर्सरी हेर्न बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, उपाध्यक्ष रविचन्द्र आचार्य लगायतका स्थानीय गाउँपालिकाका उच्च नेताहरुले समेत स्थलगत अध्ययन गरे । नर्सरी अध्ययनपछि पदमको नर्सरीलाई सहयोग गर्ने आश्वासन समते तयार गरेको छ । तर उपाध्यक्ष आचार्य भन्छन् “सहयोग गाउँपालिकाले दिने सहमतिमा परे तापनि माथिको कानुनी अड्चनका कारण अनुदान वितरण हुन सकेको छैन ।
तर पदम जस्ता उद्यमीका लागि गाउँ सरकारले जसरी पनि चालु आर्थिक वर्षमै बजेट विनियोजन भएकाले कार्यविधि बनाएर भए पनि सहयोग गर्ने उपाध्यक्ष आचार्यले बताए । सरकारी सहयोग पाए नर्सरीलाई थप विस्तार गरी वन तथा जडिबुटी अध्ययनको राम्रो थलोको रुपमा समेत विस्तार गर्न सकिने उनले उनले बताए ।

जडिबुटीबाटै उपचार समेत
जडिबुटी खेती र नर्सरीबाट उनले विभिन्न रोग लाग्दा परम्परागत उपचार पद्धतिको समेत विकास गरेका छन् । आफ्नै नर्सरीमा भएका जडिबुटीहरुबाटै गाउँ घरमा विभिन्न रोग लाग्दा औषधी बनाउँछन् । शरीरलाई धेरै असर नगर्ने हुँदा जडिबुटी औषधीप्रति पुनः स्थानीयहरुको विश्वास बढ्दो छ ।
सुगर, उक्तचाप, किड्नी जस्ता नसर्ने रोगहरुको उपचार पनि पदमले जडिबुटीबाटै औषधी बनाएर तयार गर्ने गरेका छन् ।

Shares

Be the first to comment on "आफ्नै लगानीमा नमूना बाँझो जग्गामा सबैभन्दा ठूलो नर्सरी,"

Leave a comment

Your email address will not be published.


*