आन्तरिक पर्यटकलाई लोभ्याउँदै काभ्रेको ‘देउरालीडाँडा’

बनेपा, २१ माघ (रासस) ः काभ्रेको बनेपा नगरपालिका–३ टेङच्यो निजकैको देउरालीडाँडामा बनाएको पिङ खेलेर मनोरञ्जन लिनका लागि पछिल्लो समयमा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । पहिला खाली रहेको देउरालीडाँडामा अहिले घरबास र पिङको मज्जा लिनका लागि पर्यकटकको घुईचो बढ्न थालेको हो । वरिपरिको हरियाली वनजङ्गलको माथि अग्लो डाँडामा बसेर स्वच्छ हावा खेलेर मनोरम हिमश्रृङ्खलाका दृश्यहरु नियाल्दै पछिल्लो समयमा पीङ खेलेर मनोरञ्जनसमेत लिन पाउने भएकाले देउरालीडाँडा सबैको रोजाईमा पर्ने गरेको यहाँ घुम्न आउने पर्यटकहरु बताउँछन् ।डाँडाकै वरिपरी खेतीपातीको सुन्दर दृश्यले रमाइलो देखिने देउरालीडाँडामा बनाएको पिङ प्वाइन्टले पछिल्लो आन्तरिक पर्यटक आकर्षित हुन थालेका हुन् । बनेपा बजारबाट करिब चार किलोमिटरको उत्तरपट्टि चण्डेश्वरी मन्दिर हुँदै सुमारा (साउरा) भञ्ज्याङ कटेपछि देउरालीडाँडामा पुग्न सकिन्छ । तामाङ, बाहुन र क्षेत्री समुदायको मिश्रित बसोबास रहेको सो स्थानबाट बनेपा, धुलिखेल, पाँचखाल र काठमाडौँ उपत्यकालगायतका ठाउँ सजिलैसँग देख्न सकिने भएकाले यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रोशी गाउँपालिका–३ का हीरा लामाले ‘द देउराली होमस्टे (घरबास) एण्ड पिङ प्वाइन्ट’ सञ्चालन गरेर आधुनिक प्रकारको पिङ राखेपछि पछिल्लो समय देउरालीडाँडामा घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको बताइएको छ । “सुन्दर, शान्त र रमणीय वातावरणसहितको अग्लोडाँडा जहाँबाट बनेपा, धुलिखेल, आसपासका सबै ठाउँ र काठमाडौँ उपत्यकासमेत नियाल्न सकिने भएकाले होटलसँगै पिङ खेल्ने ठाउँ बनाएर मनोरञ्जन लिन पाउने व्यवस्थासमेत गरेको छु”, होमस्टे एण्ड पिङ प्वाइन्ट सञ्चालक लामाले भन्नुभयो, “रु बीस लाखको लागतमा रिसोर्ट र पिङ प्वाइन्ट निर्माण गर्ने लक्ष्यका साथ काम सुरु गरेका थिएँ, तर काम गर्दै जाँदा अझै बढी लाग्ने अवस्था देखिन्छ ।” यस कार्यका लागि करिब रु ३५ लाख लागत लाग्ने अनुमान गरिएको उहाँको भनाइ छ । बजारको भीडभाड र कोलाहलबाटमुक्त हुन यहाँका बासिन्दा शान्त वातावरणसहितको सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सो क्षेत्रमा पुग्ने गरेका छन् । त्यहाँ पुग्नेका लागि अहिले सो स्थानमा सानो कटेजको संरचना निर्माण गरिएको छ । “घरबास र कटेज निर्माणको चरणमा नै छौं, अहिलेसम्म करिब रु १५ लाख लगानी भइसक्यो”, उहाँले भन्नुभयो, “स्थानीय परिकारको स्वाद लिन पाउनेसँगै बस्न चहनेका लागि सुविधासम्पन्न कोठाको व्यवस्था समेत गर्नेगरी थप व्यवस्थापन कार्य भइरहेको छ ।” दुई महिना अगाडिदेखि निर्माण सुरु गरिएको घरबास र पिङ प्वाइन्ट डेढ रोपनी जग्गामा फैलिएको छ । सो जग्गा आफ्नो र एक जना अर्का छिमेकीको रहेकाले सामूहिक लगानीमा घरबास सञ्चालन गर्ने गरी गृहकार्य भइरहेको लामाले बताउनुभयो । यसअघि निर्माण व्यवसायमा आवद्ध रहनुभएका लामाले सुन्दर वातावरण देखेपछि रिसोर्ट सञ्चालनका लागि लगानी गरेको बताउनुभयो । बनेपाबाट शुक्रबार र शनिबार सो डाँडामा घुम्न जानेको सङ्ख्या धेरै रहेकाले यहाँ रिसोर्ट चलाउनका उपयुक्त देखिएको उहाँको भनाइ छ । “अझै पनि अहिले संरचना निर्माणको काम भइरहेकाले विशेष गरी पिङ खेल्ने र सामान्य खाजाको सुविधा दिइरहेको छु”, उहाँले भन्नुभयो, “अबको एक महिनाभित्रमा सबै कुरा व्यवस्थित हुन्छ ।”रिसोर्ट सञ्चालनसँगै मनोरञ्जनका लागि पिङ खेल्ने व्यवस्थासमेत गरेपछि देउरालीडाँडामा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि धेरै सहयोग पुग्ने विश्वास स्थानीयवासीको छ ।
–––

Shares

Be the first to comment on "आन्तरिक पर्यटकलाई लोभ्याउँदै काभ्रेको ‘देउरालीडाँडा’"

Leave a comment

Your email address will not be published.


*