आधा शताब्दीदेखि पुर्ख्यौली पेशामा रमाउँदै जिरी धनमालेका खाती

इश्वर बिश्वकर्मा

चरिकोट

जिरी नगरपालिका ८ धनमालेका डबले खातीको दैनिकी आरानमै बित्छ । बिहान उठेदेखि राती नसुतुन्जेलसम्म फलामलाई आकार दिदैँ कुटो, कोदालो, हँसिया लगायतका कृषि औजार बनाउछन् । त्यस्ता औजार बेचेर जीविकोपार्जन गरिरहेका छन् । मासिक अधिक कमाइ भए २५ हजारसम्म हुन्छ, नत्र १५ हजार रुपैयाँसम्म त खल्तीमा नटुट्ने खाती बताउँछन् । उनको जीवनको सहारा बनेको छ आरान ।

चामल, दाल सकिए आरानबाटै उत्पादित सामान बेचेको पैसाले किन्नुपर्छ । बिरामी हुँदा या कुनै समस्या पर्दा आरान मुख्य आधार बनेको छ । उनको परिवार धान्ने प्रमुख स्रोत नै आरान हो । अहिले ६५ बर्षमा दौडदैँ गरेका खातीको बाल्यकाल आरानमै बित्यो । उनका बुबाले पढ्न जान भने पनि उनि विद्यालय जानुको सट्टा बरु लुकि–लुकि आरानमा जान्थे । १२–१३ बर्षको उमेरमै कर्द, मचाङ्गा बाजा, चिम्टी बनाउन थालिसकेका थिए । उनलाई आरान प्यारो लाग्न थाल्यो । त्यसैमा भविष्य देखे अनि पुख्र्यौली आरान पेशा अँगाले । दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरताका साथ आरान सञ्चालन गरिरहे ।

 

कृषि औजार निर्माणमा दक्ष र अनुभवी व्यक्तिको रुपमा डबले स्थापित भएका छन् । आफ्नो सीप र अनुभवहरु विभिन्न संघसंस्था र स्थानीय सरकारको सहयोगमा धेरै ठाउँमा बाँडिसकेका छन् । जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशंकर, मेलुङ, तामाकोशी र विगु गाउँपालिकाको विभिन्न स्थानमा आरान सम्बन्धि तालिम समेत प्रदान गरिसकेका छन् ।

 

५२ बर्षको उमेरमा विद्यालय भर्ना
एकपटक गाउँकै एकव्यक्तीले हिसाब गर्न नजान्दा उनलाई झुक्याए । उनको साह्रै चित दुख्यो । त्यस घटना पछि पढाईको महत्व धेरै रहेको महशुस गर्न थाले । बाल्यकालमा पढ्नुको सट्टा आरानमै ध्यान गएकोमा उनलाई पछुतो लाग्न थाल्यो । पढाई बिना जुनसुकै काम गर्न पनि असम्भव भन्ने उनलाई लाग्यो । मानिसले जीवनमा धेरै कुरा गर्दछ । त्यो सबै गर्न परेर मात्र हुदैन्, पढेर पनि जानेको ठिक रहेछ भन्ने उनले सोचे । पढ्न उमेरले छेक्दैन भन्दै ५२ बर्षको उमेरमा उनि कक्षा ४ मा भर्ना भए । उनले विगत सम्झदैँ भन्छन् “ मलाई सामान्य लेखपढ र हिसाब जान्नु थियो । शिक्षकहरुले १ कक्षामा भन्दा पनि ४ कक्षामा भर्ना हुनु उचित हुने सुझाव दिए ।अनि भर्ना भएँ । ४ कक्षा राम्रो अंकका साथ उर्तिण पनि भए । अक्षर र हिसाब जान्नुथियो, उनले जानेरै छाडे । त्यसपश्चात् आफ्नै आरान पेशालाई निरन्तरता दिनतर्फ अग्रसर भए ।

स–सम्मान रुपमा आरान गर्न सक्ने आधारहरु राज्यले तयार गरिदिनु पर्दछ । आरानकर्मी मात्रै होइन सफल उद्योगी बन्नको लागि राज्यले वातावरण निर्माण गर्नुपर्ने उनले बताए। आरान उद्योगलाई सम्मानित पेशाको रूपमा स्थापित गर्न सकिएको खण्डमा युवाहरुलाई समेत यसप्रति आकर्षित गराउन सकिने उनि बताउछन् ।

बालीघरे प्रथा त्यागे, उद्योगको रुपमा आरान
वर्षभर काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथा नै बालीघरे प्रथा हो । खातीलाई यो प्रथा ठिक लागेको थिएन । दलितले वर्षभरि काम गर्नुपर्ने र गैरदलितको शरणमा भिक मागेजस्तै गरी वर्षमा दिइने अन्न लिने परम्पराले त्यो समय उनलाई दुखि बनाएको थियो । त्यसैले २०५४ सालदेखि कृषि औजार बनाएको ज्याला बापत अन्नबाली हैन, पैसा लिन थाले । व्यवसायिक बन्न अग्रसर हुन थाले । “ बालीघरे प्रथाकै कारण धेरैले आरान व्यवसाय नै त्यागे । तर मैले आरान व्यवसायको सट्टा बालीघरे प्रथा त्यागेँ ।“उनले भने ।

२०७५ मा आरानलाई व्यवसायिकता र आधुनिकता तर्फ जोड दिनुपर्छ, भन्ने उद्देश्यका साथ घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरे । उनले अनुदानमा विभिन्न सामग्रीहरु पनि पाएका छन्। त्यसले उनलाई आरान उद्योग सञ्चालनमा थप हौसला र प्रोत्साहन मिलेको छ । विद्युतबाट चल्ने आधुनिक किसिमको प्रविधि जडान गरेका छन् । उद्योगमा अहिले कुटो, कोदालो, खुकुरी, कर्द, बन्चरो, हँसिया, कोदाली, चाँदे, माछा कुखुरी लगायतका घरायसी तथा कृषिजन्य औजारहरु निर्माण हुन्छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनमा समेत उनको उद्योगमा उत्पादित सामग्रीले घरमै थन्किनु परेको थिएन । गाउँमै बिक्री भएका थिए ।
बिभिन्न ठाउँमा तालिम प्रदान
कृषि औजार निर्माणमा दक्ष र अनुभवी व्यक्तिको रुपमा डबले स्थापित भएका छन् । आफ्नो सीप र अनुभवहरु विभिन्न संघसंस्था र स्थानीय सरकारको सहयोगमा धेरै ठाउँमा बाँडिसकेका छन् । जिल्लाको भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, गौरीशंकर, मेलुङ, तामाकोशी र विगु गाउँपालिकाको विभिन्न स्थानमा आरान सम्बन्धि तालिम समेत प्रदान गरिसकेका छन् । तालिम लिएका केहिले मात्र आरान सुरु गरि निरन्तरता दिइएका छन् । उनि भन्छन् ूतालिम लिएकामध्ये गौरीशंकर र विगुका धेरैले आरान सञ्चालन गरिरहेका छन् । अन्यले केहिले पनि सञ्चालन गरि रहेका छन् ।
आरानलाई सम्मानित पेशा बनाइनुपर्छ
आरान सञ्चालन गर्नेहरुलाई समाजले हेयको दृष्टिले हेर्ने गरेको छ । आरान व्यवसायीलाई फरक दृष्टि अर्थात् जातीयरुपमा विभेद गर्ने गरेको पाइन्छ । जसले गर्दा नयाँ पुस्ताले यसलाई व्यावसायिक ढङ्गले सञ्चालन गर्न चाहँदैनन् । त्यसको परिवर्तन गर्न सबैलाई उनि अनुरोध गर्दछन् । स–सम्मान रुपमा आरान गर्न सक्ने आधारहरु राज्यले तयार गरिदिनु पर्दछ । आरानकर्मी मात्रै होइन सफल उद्योगी बन्नको लागि राज्यले वातावरण निर्माण गर्नुपर्ने उनले बताए। आरान उद्योगलाई सम्मानित पेशाको रूपमा स्थापित गर्न सकिएको खण्डमा युवाहरुलाई समेत यसप्रति आकर्षित गराउन सकिने उनि बताउछन् । उनलाई भने आरान उद्योगी भनेर अहिलेसम्म कोहीकसैले पनि विभेद र दुर्व्यवहार नगरेको उनि दाबी गर्छन् ।

लेखक विश्वकर्मा राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा दोलखाका सहसचिव पनि हुन् ।

 

Shares

Be the first to comment on "आधा शताब्दीदेखि पुर्ख्यौली पेशामा रमाउँदै जिरी धनमालेका खाती"

Leave a comment

Your email address will not be published.


*