आज विजयादशमीः टीकाको साइत बिहान १०ः३५ बजे

२१ असोज, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मंगलबार मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले मंगलबार देवी विसर्जनको साइत बिहान ८ः४५ बजे रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने बिहान १०ः३५ बजे उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।विजयादशमी आफैंँमा शुभ दिन भएकाले मंगलबार टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले जानकारी दिए ।“राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ”, अध्यक्ष गौतमले भने ।
मङ्गलबार चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइने मानिस पूर्व फर्कनुपर्छ । टीका लगाइदिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले बताए ।

मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ ।

जमराले विभिन्न रोगव्याधिमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

Shares

Be the first to comment on "आज विजयादशमीः टीकाको साइत बिहान १०ः३५ बजे"

Leave a comment

Your email address will not be published.


*