आज मध्यरातिदेखि लकडाउन हटाउने सरकारको निर्णय

साउन ६, २०७७ काठमाडौं : सरकारले आज मध्यरातबाट लक डाउन खुला गर्ने निर्णय गरेको छ। गत चैत ११ गतेबाट जारी भएको लकडाउन आज रातिबाट खुल्ने सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए। आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए। लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए। सरकारले आज रातिबाट लक डाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, ट्युसन सेन्टर, सिनेमा हल, डान्स बार, सैलुन व्युटी पार्लर स्विमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए। यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताएका छन्। सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने खतिवडाले बताएका छन्। भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ । अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उनले बताएका छन्। स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकिछिपी आएमा कानुन अनुसार कारवाही गरिने खतिवडाले बताए।
Shares