आकाश हेर्दै दोलखाका किसान

इश्वर विश्वकर्मा

चरिकोट, कार्तिक ७
दोलखाका बेँसी क्षेत्रका किसानहरु खेतभरी पहेँलपुर धानको बाला झुलेर भित्र्याउने बेला भएपछि दङ्ग छन् । बिउ, सिंचाई, मलको अभाव, जँगली जन्तुको समाना लगायत अन्य थुप्रै समस्या र चूनौतीबीच दुख गरेर खेतमा लगाएको धान लहलह झुल्दा धान रोप्दा गरेको दुख भुलेर किसानको मुहार उज्यालो नहुने कुरै भएन । तर धान भित्र्याउने समयमा कुबेलाको बर्षा हुने देखिएपछि उनीहरुको खुशी गायब भई चिन्ता बढेर गएको छ ।

मुलुकका अन्य धेरै जिल्लामा धान काटेर भित्र्याउने तयारीमा रहेको समयमा केहीदिन अघि भएको कुबेलाको वर्षाले क्षति गर्यो । काटेको धान कतिपय ठाउँमा बाढीले बगाएपछि लाखौँको क्षति भएको भन्ने खबर सुन्दा दोलखाका किसानहरु पनि धानमा क्षति हुने गरी पानी पर्छ की भन्ने डरमा छन् । उनीहरु धान भित्र्याएर ढुक्क हुन चाहन्छन् ।
राम्पाका सुब्बा थामीको परिवार पाकेको धान भित्र्याउन आकाश हेर्न बाध्य छ । आकाशमा कालो बादल मडारिँदा उनीहरुको मन पनि मडारिन थाल्छ । उनीहरु मौसममा परिवर्तन भई घाम लाग्ने आशमा बसिरहेका छन् । थामी परिवारको आफ्नो र अधिँया गरी करिब २० रोपनी क्षेत्रफलको खेतमा धान पाकेर झुलेको छ । मौसम यस्तै रहेमा भित्र्याउन नपाउँदा खेतमै धान सड्ने, झर्ने र नोक्सानी हुने चिन्ता उनीहरुमा बढेको छ ।
मौसमबारे जानकारी अपरिहार्य
दोलखामा दुई हजार ९ सय १ हेक्टर क्षेत्रफल धान खेती योग्य जमिन रहेको छ । विषेशगरी बैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकामा अन्य पालिकाको तुलनामा धेरै परिमाणमा धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र रामेछाप अन्तर्गत चरिकोटमा रहेको सम्पर्क कार्यालय प्रमुख नन्दराज ओलीले बताउनुभयो । यो वर्षपनि चाँडो धान रोपेका कारण यी क्षेत्रको अधिकाँश क्षेत्रमा धान पाकिसकेको छ । तर मौसमको कारणले गर्दा राम्रोसँग पाकेको धानलाई कटान गर्न, सुकाउन र झार्न समस्या भएको छ ।


किसानहरुले मौसमको अवस्थाबारे जानकारी लिएर सचेत हुनुपर्ने उहाँले बताउनुभएको छ । अहिले रेडियो, टेलिभिजन, मोबाइलबाटै मौसम सम्बन्धि जानकारी पाउन सकिन्छ । सोही जानकारी अनुसार पाकेको धान काट्ने वा नकाट्ने निर्णय लिने गर्नुपर्ने उहाँले बताउनुभयो । काटिएको धानलाई भिरालो स्थानमा राख्ने, त्रिपाल ओढाउने गर्नाले अधिक क्षति हुनबाट जोगाउन सकिन्छ ।
गत वर्ष दोलखा जिल्लामा धान उत्पादन बढेको थियो । तर यो वर्ष अधिकांश स्थानमा हाइब्रिड जातको धान लगाएको कारण धान फलेन, बालै लागेन भन्ने गुनासो किसानबाट आएको छ । जसले गर्दा धान उत्पादनमा ह्रास आउन सक्ने उहाँले सुनाउनुभयो ।
कृषि बिमा प्रति किसान अनभिज्ञ
बाली बिमा गर्नुपर्छ भन्ने जानकारी नभएको बताउनुहुने सुब्बा थामीले भन्नुभयो “पशु चाँहि बिमा गर्नुपर्छ भन्ने थाहा थियो । तर अन्नबालीको बिमा हुन्छ भन्ने थाहा थिएन । तपाईले भन्दा पो थाहा भयो ।” कुनै कारण बालीको हानीनोक्सानी भएमा क्षतिपूर्ति उपलब्ध हुने भए बिमा गरी ढुक्क बन्ने चाहाना उहाँले व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो “बालीमा हानी भए क्षतिपूर्ति हुन्छ भने त बिमा गर्नुपर्ने महशुस भयो । तर झन्झटिलो प्रक्रिया भयो भने त गाह्रो हुन्छ नि ।”

सुब्बा थामी जस्तै बाली बिमा बारे जानकारी नै नहुने किसानहरु धेरै छन् । स्थानीय तहमा कृषि शाखा रहेको छ । त्यहाँ थुप्रै प्राविधिकहरु कार्यरत छन् । तर उनीहरुले बाली बिमा गर्नुपर्ने भन्ने जानकारी किसानलाई दिनको लागि कुनैपनि भूमिका निर्वाह गरेका छैनन् । जसले गर्दा दोलखामा बाली बिमा हुन सकेको छैन । बाली बिमा गरेपछि असिना, बाढी, पहिरो लगायतका प्रकोपका कारण अन्नबाली क्षति भएको खण्डमा बिमा कम्पनीले क्षतिपूर्ति गरिदिन्छ । तर दोलखामा भने यस विषयमा किसानलाई थाहै नभएपछि किसान मारमा पर्नुपर्ने अवस्था छ ।

बिमा बापत मात्रै २५ प्रतिशत बराबर शुल्क किसानले व्यहोर्नुपर्ने हुन्छ । बाँकी रकम सरकारले ब्यहोर्छ । तर किसानलाई यसबारेमा थाहै छैन । बाली बिमा गर्न चाहने किसानले समेत झन्झटिलो प्रक्रिया भएको कारण बिमा गरेका छैनन् ।
जिल्लामा २०७१ देखि कृषि तथा पशुपन्छी बिमाका लागि चरिकोटमा प्रिमियर इन्सुरेन्स कम्पनी नेपाल लिमिटेड चरिकोट शाखा सञ्चालनमा आएको थियो । पशु बिमामा भने किसानहरुको आकर्षण बढेको छ । तर सात वर्ष भईसक्दा पनि बाली बिमा भने हाल सम्म कुनैपनि किसानले नगरेको शाखा प्रमुख पुरुषोत्तम थापाले बताउनुभयो ।

बाली बिमा प्रति किसानको चासो र आकर्षण बढाउन यस सम्बन्धि ज्ञान दिइनुपर्ने र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाइनुपर्ने बताइएको छ । कृषि बिमाको लागि आवश्यक समन्वय एवं प्रोत्साहनमा स्थानीय सरकारले विषेश भूमिका खेल्नुपर्ने देखिएको छ ।

Shares

Be the first to comment on "आकाश हेर्दै दोलखाका किसान"

Leave a comment

Your email address will not be published.


*