अस्पतालबाट ३९ हजारले लिए सेवा

ईश्वर विश्वकर्मा
चरिकोट, साउन ३०
दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालबाट एक वर्षमा झन्डै ३९ हजार जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा अस्पतालबाट आकस्मिक र बहिरङ्ग सहित परीक्षण र औषधोपचार लगायतका सेवा ३८ हजार ९ सय ७७ जनाले लिएका हुन् ।
डाक्टर विनोद दङ्गालको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले निशुल्क, विश्वसनीय, भरपर्दो र सहज तवरले स्वास्थ्य सम्बन्धी सेवा प्रवाह गर्ने हुँदा अस्पतालमा बिरामी र सेवाग्राहीको चाप बढ्दो क्रममा रहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा जिल्ला बाहिरका बिरामी समेत उपचार सेवाका लागि आउने गरेका छन् । स्रोतसाधन, प्रविधि र क्षमताले भ्याएसम्मका सेवा प्रवाहका लागि अस्पतालले अहोरात्र मिहिनेत गरेको छ ।
गत वर्ष आकस्मिक सेवा पाँच हजार १ सय ६७ र बहिरङ्ग सेवा नौ हजार १ सय ३३ र भर्ना भएर दुई हजार १ सय २६ जनाले स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छन् । यस्तै अस्पतालमा जटिल शल्यक्रिया दुई ६५, एक्स रे सेवा चार हजार ६ सय ६, भिडिओ एक्स रे एक हजार २ सय ५०, इसिजी सेवा एक सय ८८, दन्त आठ सय ५५, ओसिएमसी सेवा एक सय ६३, नियमित खोप सेवा तीन सय ५० जनाले लिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । अस्पतालमा एघार सय ५० जनाले नियमित गर्भजाँच गराएका छन्, भने प्रसूति सेवा लिनेको संख्या एक हजार ३ जना रहेका छन् । जसमा शल्यक्रिया मार्फत दुई सय ३० जना र सामान्य प्रसूति सेवा सात सय ७३ जनाले लिएका छन् । अस्पतालले सुरक्षित गर्भपतन सेवा पनि प्रवाह गरिरहेको छ । गत आर्थिक वर्ष १२ हप्ता सम्मको दुई ७० जनाले र १८ हप्ता सम्मका ७७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अस्पतालले परिवार नियोजन सम्बन्धी सेवा दुई सय ३७ जनालाई प्रदान गरेको छ । प्रयोगशालामा नमूना परीक्षण लिनेको संख्या पाँच हजार ४६ रहेको छ । एक सय वटा शव पोस्टमार्टम गरिएको छ ।
सूचना अधिकारी न्यौपानेले अहिले अस्पतालमा प्रवाह हुने बाहेकका सेवाका लागि काठमाडौँ लगायतका सहरमा धाउनुपर्ने अवस्थालाई अन्त्यका गर्न अस्पतालले थप सेवा विस्तार गर्ने योजना बनाएपनि सफल हुन नसकेको बताउनुभयो । अस्पतालमा आइसीयु र डाइलासिस सेवा विस्तारका लागि सामाग्रीहरू केही महिना अघि नै उपलब्ध भएपनि पर्याप्त र दक्ष जनशक्ति तथा पूर्वाधारको अभावमा सेवा सुचारु हुन सकेको छैन । अहिले अस्पतालमा ६३ जना करारका स्वास्थ्यकर्मी र कर्मचारी कार्यरत रहेका छन । उनीहरूको करार अवधि बागमती प्रदेश सरकारले नथप्ने भएपछि अस्पतालले नै तीन महिनाको करार अवधि थप्ने निर्णय गरेको छ । त्यसका लागि तलबभत्ताको व्यवस्था गर्न स्थानीय तहसँग सम्झौता भएको सूचना अधिकारी न्यौपानेको भनाइ छ । आगामी भदौको तेस्रो साता बागमती प्रदेश सरकारले तलबभत्ता दिने गरी पाँच विषेशज्ञ चिकित्सक सहित ३३ जना स्वास्थ्यकर्मी पठाउन लागेको बताउनुभयो । अस्पतालले थप उपचार सेवा विस्तारका लागि अर्को भवन समेत निर्माण गरिरहेको छ ।

Shares

Be the first to comment on "अस्पतालबाट ३९ हजारले लिए सेवा"

Leave a comment

Your email address will not be published.


*