असार मसान्तसम्म एक वर्ष पुग्ने मुद्दा शून्यमा झार्ने जिल्ला दोलखा अदालतको तयारी

चरिकोट(दीस)ः दोलखा जिल्ला अदालतले चालु आर्थिक वर्षको असार मसान्तसम्ममा एक वर्ष पुग्ने मुद्दा शून्यमा झार्ने तयारी गरेको छ । हाल सम्म जिल्ला अदालतले लक्ष्यको ९९ प्रतिशत मुद्दा फैसला गरेको छ ।
गत आर्थिक वर्षको समाप्तीसँगै चालु आर्थिक वर्षमा पाँचसय ८९ मुद्दाको फैसला गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार जेठ अठार गते सम्ममा अदालतले पाँचसय एक मुद्दा र्फैसला गरेको जिल्ला अदालत दोलखाको तथ्याङ्क छ ।
जिल्ला अदालतमा परेका मुद्दाहरुमा अधिकाँस सम्बन्ध विच्छेदका रहेको स्रेस्तेदार शिवकुमार पोखरलेलले जानकारी दिनुभयो ।
सम्बन्ध विच्छेदको मुद्दा अधिकांश महिलाहरूले उजुरी दर्ता गर्ने गरेको पाइएको छ । अदालतका अनुसार सम्बन्धविच्छेदका मुद्दा भन्डै ३० प्रतिशत रहेका छन् । त्यस्ता घटना न्यूनीकरण गर्न अदालतले मेलमिलापका लागि अधिकतम प्रयास गरे पनि सफल नभएको पोखरेलका भनाई रहेको छ । यसका अतिरिक्त साधारण देवानी, साधारण फौजदारी, सरकारवादी फौजदारी, बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाजस्ता विषयमा मिश्रित उजुरी दर्ता हुने गरेको जिल्ला अदालत दोलखाले बताएको छ ।
असार मसान्तसम्म लक्ष्य अनुसारका थप ८८ वटा मुद्दाको फैसला भइसक्ने उहाँको भनाई रहेको छ ।
अदालतमा दर्ता भएका सात सय १३ वटा मुद्दामध्ये चालु आर्थिक वर्षमा पाँच सय ८९ मुद्दा फैसला गरिसक्ने तयारी रहेको श्रेस्तेदार पोखरेलले जानकारी दिनुभयो । तीन सय ६१ सहित चालू आवमा नयाँ दर्ता भएका ३५२ गरी जम्मा ७१३ मुद्दा रहेको दोलखा जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको जिल्ला अदालत दोलखाले जनाएको छ । दर्ताका आधारमा भने ७०.२६ प्रतिशत फैसला भइसकेका छन् । फैसला हुन बाँकी रहेका दुई सय १२ मुद्दामध्ये एक वर्षभित्र दर्ता भएका २००, एकदेखि डेढ वर्षभित्रका सात र डेढदेखि दुई वर्षभित्रका पाँच मुद्दा रहेका छन् ।
पहिले दुईजना न्यायाधीशको दरबन्दी रहेको दोलखा जिल्ला अदालतमा मुद्दाको संख्यामा कमी आएसँगै हाल एक मात्र न्यायाधीश कार्यरत रहनु भएको छ ।

Shares

Be the first to comment on "असार मसान्तसम्म एक वर्ष पुग्ने मुद्दा शून्यमा झार्ने जिल्ला दोलखा अदालतको तयारी"

Leave a comment

Your email address will not be published.


*