अष्ट्रेलियाविरुद्ध नेपालको अग्निपरीक्षा

काठमाडौं । सन् २०२२ को कतार विश्वकप तथा सन् २०२३ को चीन एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले शुक्रबार राति एसियाको पावरहाउस अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा शुक्रबार राति ९ः४५ बजे नेपालले पाँच पटक विश्वकप खेलिसकेको समूह बी कै सबैभन्दा बलियो टोलीसँग नेपाल खेल्दै गरेको हो । यो खेल जित्ने नेपालको सम्भावना कुनै पनि कोणबाट देखिँदैन । तर नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने नेपाली टिमले अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरिरहेका छन् ।  उनले युवा खेलाडी निकै नै सेट रहेकाले आफ्नो टिमले राम्रो प्रदर्शन गर्ने बताएका हुन् । तर नेपालको राम्रो प्रदर्शन भनेको अष्ट्रेलियासँग कमभन्दा कम गोल खानु नै हो ।  नेपालले अष्ट्रेलियालाई हराएर एसिया कप छनोटको प्लेअफ खेल्ने अवसर पाउने छ भनी आशा गर्नु ठीकै हो तर त्यो परिणाम ल्याउँछ नै भनेर दाबी गर्नु मुख्र्याइँ हो । समूहमा ६ खेलबाट १८ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपाल ६ अंकसहित चौथो स्थानमा छ । पाँच टिम सहभागी समूहमा नेपालले पुछारको चाइनिज ताइपेईलाई दुवै खेलमा हराउँदा जोर्डन र कुवेतसँग दुवै खेल हारेको थियो । समूहको एक मात्र अपराजित टोली अष्ट्रेलियाले पहिलो खेलमा नेपाललाई घरेलु मैदानमा ५–० गोल अन्तरले हराएको थियो । सन् २०१९ मा अष्ट्रेलियाको घरेलु मैदानमै नेपालले मात्र ५ गोल खाँदा नेपाली टिमको प्रशंसा भएको थियो ।  अष्ट्रेलियाले फिफा वरियतामा निकै नै तल रहेको नेपाललाई जम्मा ५ गोलले हराउँदा थकथक मानेको थियो । अर्थात् नेपालले अष्ट्रेलिया जानुअघि नै पहिलो पटक खेल्दै गर्दा कम्तीमा एक दर्जन गोलको भारी बोक्नुपर्ने हो कि भन्ने आशंका गरेको थियो ।  जेहोस् नेपालले ५ गोल खायो । यसपालि अझ कम गोल खाओस् । युवा खेलाडीहरुले भरिएको टिमप्रति भरोसा भएको प्रशिक्षक अलमुताइरीको भनाइ छ । त्यस्तै अष्ट्रेलियाका प्रशिक्षक पनि नेपाली टिमप्रति आशावादी छन् । उनी टिमको प्रदर्शनबाट भन्दा पनि नेपाली दर्शकप्रति नतमस्तक छन् । नेपाली दर्शक त्यस्ता हुन् जुन देशमा खेल हुन्छ विद्यार्थी भए पढाइ छाडेर र कामदार भए त्यो दिन बिदा नै लिएर फुटबल हेर्न जान्छन् ।

Shares

Be the first to comment on "अष्ट्रेलियाविरुद्ध नेपालको अग्निपरीक्षा"

Leave a comment

Your email address will not be published.


*