अभिनयको नेपाल साइकल यात्रा समापन

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन ३१
दोलखाको कालिञ्चोक गाउँपालिका–३ लामीडाँडाका युवा अभियान्ता अभिनय कार्कीको नेपाल साइकल यात्रा समापन भएको छ ।
पर्यटन प्रवद्र्धन, तनाव व्यवस्थापन र लागुऔषध दुव्र्यसन सम्बन्धी सचेतना प्रवाह गर्ने उद्धेश्य बोकेर नेपालको सबै जिल्लामा साइकल यात्रा गरी उहाँले मंगलबार गृह जिल्ला फर्किएर यात्राको समापन गर्नुभएको हो । यात्रा समापन गर्न गृह जिल्ला फर्कनुभएका कार्कीलाई राजनितिज्ञ, समाजसेवी र पत्रकारले प्रशंसा एवं सम्मान गरेका छन् ।
गत वर्षको पुस १५ गतेदेखि “फ्रस्ट्रेसन, डिप्रेसन र लागुऔषध दुव्र्यसनलाई त्यागौं, समृद्ध राष्ट्र निर्माणका लागि युवाहरू एकजुट बनौ” भन्ने नारा सहित सुरु भएको अभिनयको यात्रा १९९ दिनमा मंगलबार सम्पन्न भएको हो । यात्राका क्रममा ७७ वटै जिल्लाका सदरमुकामका विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको र पर्यटकीय स्थलहरुको अवलोकन गरिएको साइकल यात्री कार्कीले बताउनुभयो । उहाँले आफ्नो यात्राको सम्पूर्ण जानकारी सहित वृत्त चित्र निर्माण गर्ने र प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो ।
“नेपाल साइकल यात्रा चुनौतीपूर्ण थियो । तर मैँले ती चुनौतीको सामना गर्ने आँट गरे । अहिले सफल पनि भएको छु । यो खुशी साट्न पाउँदा म आफूलाई भाग्यमानी ठानेको छु ।” उहाँले भन्नुभयो, “यात्राको क्रममा गरिएका अन्तरक्रियाले विभिन्न ठाउँको वस्तु स्थितको जानकारी लिन सहज भएको थियो । तनाव व्यवस्थापन र लागु औषध दुव्र्यसन सम्बन्धि सचेतना फैलिएको छ । यसले यात्रासँगै उद्धेश्य समेत सफल भएको छ ।” भौगोलिक विकटता र सडकको दुरावस्थाका कारण कतिपय स्थानमा साइकल यात्रा कठिन भएपनि तराईका भुभाग लगायतका क्षेत्रमा भने साइकलयात्रा सहज र रमाइलो भएको कार्कीको अनुभव छ । यात्राका क्रममा थुप्रै तितामिठा अनुभवहरु प्राप्त भएको उहाँले बताउनुभयो ।
साइकल यात्रालाई सफल बनाउन सम्बन्धित जिल्लाका स्थानीय सरकार तथा सहयोगीहरूले सहयोग गर्नुभएको थियो । उहाँले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पैदल यात्रा सम्पन्न भएपछि नेपालभर साइकलयात्रा गर्नुभएको हो । युवा जोश र शक्तिलाई उपयोग गर्दै आफ्नो पहिचानसँगै देशको पहिचान थप अभिवृद्धि गर्ने गरी उहाँले आफ्ना योजना कार्यान्वयन गरिरहनुभएको छ । दुई वटा योजना सफल भएकोले त्यो भन्दा बृहत योजनालाई सफल पार्ने तयारीमा आफू सत्रिय हुने कार्कीले सुनाउनुभयो । चुनौती र समस्यासँग नहडबडाई लक्ष्य भेट्ने मार्गमा निरन्तर हिडेँमा सफल होइने बताउँदै उहाँले अब विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहण गर्ने र विश्व किर्तीमानका लागि अग्रसर हुने आफ्नो योजना रहेको बताउनुभयो ।

Shares

Be the first to comment on "अभिनयको नेपाल साइकल यात्रा समापन"

Leave a comment

Your email address will not be published.


*