अपरिचित ब्यक्तिलाई बास दिँदा बृद्धाको हत्या

चरिकोट (दीस) ः दोलखाको कालिञ्चोक गाउँपालिकामा अपरिचित व्यक्तिलाई बास दिदाँ बास दिने बृद्धा महिलाको हत्या भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका ६ मा बास बस्न भन्दै घर आएका एक युुवकले बास दिने बृद्धा महिलाको हत्या गरेका हुन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ पाटागाउँकी ८० वर्षीया पदमकुमारी सुनुवारको घरमा गत १० गते बिहान १० बजे शव स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले हत्याको आशंका गर्दैै अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ नर्मी भन्ने स्थानमा घर भएका २३ वर्षीय विक्रम कार्कीले हत्या गरेको प्रहरीले तथ्य फेला पारेको थियो । कार्कीले सुनुवार एक्लै घर भएको मोका छोप्दै बास बस्ने निहुँ बनाउदै लुटपाट गर्ने उदेश्यका साथ हत्या गरेको प्रहरीलाई बयान दिएको दोलखाका प्रहरी प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिनुभयो । गत साउन ९ गते राति मृतक वृद्धाकै घरमा कार्की वास बसेका थिए । वैदेशिक रोजगारीमा दुवई जान परीक्षा दिई काठमाडौंबाट घर फर्कने क्रममा ती युवक सुनुवारको घरमा वास बसेका थिए । वृद्धा सुनुवारले कार्कीलाई भान्सा कोठामा ओछ्यान लगाई आफू अर्कै कोठामा सुत्न जानु भएको थियो  । कार्कीले राति आफू सुतेको कोठामा रहेको खुकुरी लिई वृद्धा सुतेको कोठाको ढोका फुटाई खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यापछि फरार रहेका कार्कीलाई बागमती प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहित खटिएको प्रहरी टोली र दोलखा प्रहरीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको डिएसपी खड्काले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "अपरिचित ब्यक्तिलाई बास दिँदा बृद्धाको हत्या"

Leave a comment

Your email address will not be published.


*