अन्तरीक्ष अभियानमा चीनको अर्को सफलता ः चाङ”इको मुख्य यानमा चन्द्र धरातलको नमुना ल्याइयो !

एजेन्सी /चन्द्र धरातलबाट माटो र ढुंगाको नमूना लिएर उडेको यान सफलतापूर्वक चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको चाङ’इको मुख्य यानमा जोडिएको छ । सो यानले आफूले ल्याएको नमूना मुख्य यानमा राखेर पुनः छुट्टिइसकेको पनि छ ।चीनले आफ्नो अन्तरिक्ष इतिहासमै पहिलो पटक यो सफलता प्राप्त गरेका हो । यसअघि पृथ्वीको तल्लो कक्षमा चीनले यस किसिमका सफलता थुप्रै पटक प्राप्त गरिसकेको छ । तर पृथ्वीबाट ३ लाख ८० हजार किलोमिटर टाढा चन्द्रमाको कक्षमा नै यसरी सफलताप्राप्त गरेको भने पहिलो पटक हो ।चन्द्र धरातलबाट उडेको चाङ’इको प्रोब चन्द्रमाको कक्षमा परिक्रमा गरिरहेको चाङ’इ– ५ को मुख्य यानमा सफलतापूर्वक फर्केर जोडिन पुगेको थियो । यो कार्य बेइजिङको समयानुसार आइतबार बिहान ५ः४२ बजे सम्पन्न भएको थियो ।अन्तरिक्ष अन्वेषणमा ठूलो महत्वाकांक्षाका साथ अघि बढेको चीनको यो चाङ’इ अन्तरिक्ष अभियान चीनको इतिहासमै सबैभन्दा कठिन र चुनौतीपूर्ण थियो । खासगरी, अन्तरिक्ष इतिहासमै चीनले ४० वर्षभन्दा बढी समयपछि पहिलो पटक चन्द्रमाबाट माटो–ढुंगाको नमूना ल्याउने महात्वाकांक्षी अभिायन थालेको थियो । वास्तवमा भन्ने नै हो भने, हालसम्म चन्द्रमामाथि विजयप्राप्त गरेका महाशक्ति राष्ट्र अमेरिका र तत्कालीन सोभियत संघ, हालको रुसको एकाधिकारलाई तोड्न पनि यो अभियानको विशेष महत्व थियो । स्मरण रहोस्, पृथ्वीबाहेक अन्य कुनै पनि खगोलीय पिण्डबाट यानलाई सफलतापूर्वक उडाउने राष्ट्रकोसूचीमा सोभियत रुस र अमेरिकापछि अब चीनको नाम पनि थपिएको छ ।चीनको लागि सौभाग्यको कुरा, उसले त्यो दिशामा छलाङमार सफलता हासिल गरेको छ ।एउटा चन्द्रमालाई परिक्रमा गरे बस्ने, एउटा तल ओर्लने र एउटा फर्केने समेत गरी चाङ’इ अन्तरिक्ष यान नोभेम्बर २४ मा प्रक्षेपण गरिएको थियो । सो यानको ओर्लने र फर्कने यानले सफलतापूर्वक डिसेम्बर १ मा चन्द्र धरातलमा अवतरण गरेको थियो । त्यसको दुई दिनपछि चन्द्र धरातलको २ मिटरभित्रबाट माटो र ढुंगाको नमूना संकलन गरेर डिसेम्बर ३ का दिन चाङ’इको फर्कने यान उडेको थियो ।
त्यस कार्यमा चीनको एरोस्पेस साइन्स एण्ड इण्डष्ट्री कर्पोरेशन लिमिटेड (सीएएसआइसी)ले विकसित गरेको उच्च सटीकतासहितको एक्सिलेरोमिटिरहरुको प्रयोग भएको थियो । त्यसले गतिमा आएका परिवर्तनहरुको सघन निगरानी र नाप गरिएको थियो र त्यस आधारमा चन्द्र धरातलबाट फर्केका यान र चन्द्रको कक्षमा घुमिरहेको यानबीचको सापेक्षित गतिलाई नियन्त्रण गरिएको थियो । त्यसैको प्रतिफलस्वरुप मूल यानमा चन्द्र धरातलबाट नमूना संकलन गरेर फर्केको यान सफलतापूर्वक जोडिन सकेको थियो ।यस कार्यमा यानमा रहेको लामो दूरीको नाप गर्ने माइक्रोवेभ राडरले पनि यानलाई सफलतापूर्वक निर्देशिन गरेको थियो ।चन्द्र धरातलबाट संकलित करिब २ किलोग्राम माटो–ढुंगाको नमूना बोकेर उक्त यान उपयुक्त समयमा (सम्भवतः १६–१७ डिसेम्बरसम्ममा) पृथ्वीमा फर्कनेछ ।

Shares

Be the first to comment on "अन्तरीक्ष अभियानमा चीनको अर्को सफलता ः चाङ”इको मुख्य यानमा चन्द्र धरातलको नमुना ल्याइयो !"

Leave a comment

Your email address will not be published.


*