अन्तरजातीय विवाह गरेका जोडीलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान

दीक्षण समाचार
चरिकोट, माघ ११
दोलखामा अन्तरजातीय विवाह गरेका एक दम्पती मंगलबार पुरस्कृत तथा सम्मानित भएका छन् । अन्तरजातीय विवाह गरेका सुनिल बराल र दुर्गा आचार्यको जोडीलाई भीमेश्वर नगरपालिकाले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा नगद ५० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको हो । भीमेश्वर नगरपालिका–६ का सुनिल बराल र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ९ का दुर्गा आचार्य बीच असोज २२ गते सामाजिक परम्परा अनुसार अन्तरजातीय विवाह भएको थियो । उहाँहरूलाई नगरपालिकाले जातीय विभेद अन्त्यका लागि अवलम्बन गरेको वार्षिक नीति तथा कार्यक्रमका आधारमा सम्मान गरिएको नगरका सूचना अधिकारी जगदीश अर्यालले बताउनुभयो ।  विवाहित जोडीले नगरमा पेश गरेको आवश्यक प्रमाण र कागजात सहितको निवेदनको आधारमा  पुरस्कृत हुन योग्य देखिएकोले नगद सहित सम्मान गरेकाे हो ।
समाज रूपान्तरण हुने क्रममा पछिल्ला वर्ष अन्तरजातीय विवाह बढ्दो छ । यही बढ्दो अवस्थालाई थप बल पुगोस् र प्रोत्साहन मिलोस् भनी आर्थिक वर्ष २०७७÷०८८ देखि भीमेश्वर नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दम्पतीलाई पुरस्कृत र सम्मान गर्ने नीति लिएको थियो । नगरपालिकामा मात्रै नभई नेपालभर दलित र गैरदलितबीचको सम्बन्ध प्रगाढ बनाई छुवाछुत मुक्त समाज निर्माण गर्न नगरपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेको जनाएको छ । गत वर्ष पालिकाले अाफ्नाे स्थापना दिवसको अवसरमा प्रदिप सेन्चुरी र नेत्राकुमारी खड्काको जोडीलाई सम्मान गरेको थियो । 
दलित र गैरदलित बिचको विवाहलाई प्रोत्साहित गर्दा समाजमा छुवाछुत उन्मूलन अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । कतिपय स्थानमा गैरदलित समुदाय र जनप्रतिनिधिबाटै अन्तरजातीय विवाह गर्ने जोडीलाई बहिष्कार गरिरहेको बेला भीमेश्वर नगरपालिकाले भने अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेकोमा तारिफयोग्य काम भएको अधिकारकर्मीले बताएका छन् । दलित अगुवाहरूले उमेर पुगेका दलित र गैरदलित बिचको विवाहलाई प्रोत्साहनका साथै अन्तरजातीय विवाहको विरोध गर्नेलाई कानुनी बमाेजिम दण्डित गर्नुपर्ने दलित अधिकारकर्मीको माग छ । 
 

Shares

Be the first to comment on "अन्तरजातीय विवाह गरेका जोडीलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान"

Leave a comment

Your email address will not be published.


*