अनलाइन कक्षाका लागि विद्यार्थीलाई मोबाइल वितरण

इश्वर बिश्वकर्मा
चरिकोट, साउन २८
दोलखामा कोरोना महामारीका कारण भौतिक उपस्थितिमा हुने पठनपाठन कार्य ठप्प छ । यद्यपी शिक्षा आदानप्रदानका लागि विकल्पका रुपमा प्रविधिको उपयोग हुन थालेको छ ।
जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले आफ्ना विद्यार्थीहरुलाई अनलाइन मार्फत कक्षा लिइरहेका छन् । तर कक्षा लिनका लागि कतिपय विद्यार्थीहरुमा प्रविधिको पहुँच नभएकोले चुनौती पुर्ण बनेको छ ।
यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरीका लागि प्रविधिको सहज उपलब्धतामा चासो दिनुपर्दछ । कतिपय विद्यालयले ठूलो चुनौतीका बीच आफ्ना विद्यार्थीहरुको भविष्य उज्वल बनाउनका लागि अनलाइन कक्षा मात्र होइन, त्यसका लागि आवश्यक सामग्री पनि वितरण गरिरहेका छन् ।
जिल्लाको जिरी नगरपालिका स्थित जिरी माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरुलाई आज स्मार्ट फोन वितरण गरिएको छ । फोकस नेपाल जिरीको पहलमा विद्यालयले मोबाइल फोन किन्न नसकेर अनलाईन कक्षाबाट बन्चित हुन पुगेका जम्मा २० जना विद्यार्थीहरुलाई दुरुपयाेग नगर्ने सर्तमा फोन वितरण गरिएको हो ।
जिरी नगरपालिकाका नगर प्रमुख टंक जिरेल तथा फोकस नेपालका अध्यक्ष राजेश खडकाले मोबाइल फोन हस्तारन्तरण गर्नुभएको प्रधानाध्यापक केशव कुमार कार्कीले सुनाउनु भयो । असार २० गतेदेखि कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुका लागि अनलाइन कक्षा सञ्चालन भईरहेको बताउनुहुदैँ प्रधानाध्यापक कार्कीले भन्नु भयो– अनलाइन कक्षा सञ्चालनका लागि प्रविधिको पहुँच र यसको उपयोगिता बारे शिक्षक र विद्यार्थी दुवै पक्ष जानकार हुनुपर्छ । त्यसका लागि अभिभावक तथा विद्यालयको तर्फबाट ठोस कार्यहरु भएका छन् ।

Shares

Be the first to comment on "अनलाइन कक्षाका लागि विद्यार्थीलाई मोबाइल वितरण"

Leave a comment

Your email address will not be published.


*