दीक्षण समाचार ÷चरिकोट,– दोलखामा बिहीबारदेखि रेबिज विरुद्ध सप्ताहव्यापी सचेतनामुलक कार्यक्रमका साथै खोप अभियान सञ्चालन गरिने भएको छ । “एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन” नारा सहित विश्व रेबिज विरुद्धको दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञा केन्द्र र स्थानीय तहमा पशु सेवा शाखाले सचेतनामुलक कार्यक्रम र कुकुर बिरालोका लागि खोप अभियान सञ्चालन गर्ने भएका हुन् । पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख पलट चौधरीले कार्यालयमै खोप लगाइने भएको हुँदा घरपालुवा कुकुर र बिरालो खोपका लागि ल्याउन आग्रह गर्नु भयो । कार्यालबाट वर्षभरी नै निरन्तर रुपमा रेबिज विरुद्धको खोप उपलब्ध हुने गरेको छ । तर प्रत्येक वर्ष रेबिज विरुद्धको दिवसमा विषेश अभियानका साथ खोप कार्यक्रम आयोजना गर्ने गरिएको र यो वर्ष पनि त्यसलाई निरन्तरता दिइन लागिएको उहाँले बताउनु भयो । रेबिज रोग लागेको कुकुर, बिरालो, स्याल लगायतका पशुको टोकाईबाट मानिसमा वा अन्य स्तनधारी प्राणीमा प्राणघातक रेबिज संक्रमण सर्दछ । कुकुर र बिरालो मानिसले आफूसँगै पाल्नुका साथै समुदायस्तरमा यसको बिगबिगी छ । जसले गर्दा रेबिजको खतरा रहेको कुरालाई दृष्टिगत गर्दै अभियान सञ्चालन गर्न लागिएको हो । भीमेश्वर नगरपालिकाका पशु सेवा शाखा प्रमुख रमला घिसिङले रेबिजबाट सुरक्षित हुने उपाय लगायतका जानकारी सहित नगरको तर्फबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिन लागिएको बताउनु भयो । उहाँका अनुसार वडा नं. ३ चरिकोट बजार क्षेत्र बाहेक अन्य वडाहरुमा खोप केन्द्र तोकिएको छ । जसमा वडा नं.९ खरिढुँगा र दारेगौँडामा असोज ६ गते, वडा नं. ८ र ४ को वडा कार्यालयमा ७ गते, वडा नंं. ७ को वडा कार्यालय र कुप्री स्कुलमा ८ गते, वडा नं. ६ चोथाङ, वडा नं. २ स्थित वडा कार्यालय र दिलढुँगामा सचेतनासहित खोप कार्यक्रम सञ्चालन हुने छ । यस्तै वडा नं. ५ स्थित वडा कार्यालय र किँरातीछाप १० गते, वडा नं. १ स्थित वडा कार्यालय र लामनागीमा ११ गते खोप कार्यक्रम सञ्चालन हुने छ । ९० दिन माथीका कुकुर बिरालोलाई खोप दिइनुपर्छ । त्यसपछि प्रत्येक वर्ष बुस्टर डोज खोप लगाउनुपर्ने हुन्छ । सन् २०३० सम्ममा विश्व स्वास्थ्य संगठनले रेबिजलाई शुन्यमा झार्ने लक्ष्य लिएको छ । सोही लक्ष्य बमोजिम नेपालमा पनि घरमा पालिएका वा छाडा छाडिएका कुकुरबाट रेबिजको जोखिम बढी भएकोले कुकुर न्यूनिकरण गर्न बन्ध्याकरणका साथै रेबिज जोखिम कम गर्न खोप कार्यक्रम सञ्चालन भईरहेको छ । रेबिज जस्तो प्राण घातक संक्रमण रोकथामका लागि आफुले पालेका कुकुर बिरालोलाई नियमित रुपमा रेबिज विरुद्धको खोप लगाउन आवश्यक छ । कुकुर, बिरालो, स्याल लगायतका जनावरको टोकाइबाट जोगिनुपर्छ । यदि टोकिहालेमा तत्काल रेबिज विरुद्धको खोप नलगाए मानिसको ज्यानै जान सक्छ ।
Be the first to comment on "रेविज विरुद्ध साता व्यापी अभियान सुरु"