काठमाडौँ, ५ असार (रासस) :सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको एसएस फाउण्डेशनले दोलखाका दुई विद्यालयका ६४५ विद्यार्थीलाई झोला सहयोग गरेको छ । दोलखाको तामाकोसी गाउँपालिकामा अवस्थित विभिन्न विद्यालयलाई फाउन्डेशनका अध्यक्ष मदनदास श्रेष्ठले ती झोला गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीलाई आज हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष केसीले विद्यार्थीलाई पुस्तक राख्नका लागि झोला सहयोग गर्ने काम महत्वपूर्ण भएको र यस्तो कार्यले विद्यार्थीलाई पढ्न थप प्रोत्साहन मिल्ने बताउनुभयो । फाउण्डेशनका अध्यक्ष तथा कलाकार श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउण्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा पनि देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । फाउण्डेशनले यसअघि डोटीको केआइसिंह गाउँपालिका–४ मा स्थित झिमे मालिका विद्यालयलाई दुई हजार २०० झोला वितरण गरेको थियो भने दोलखाकै विभिन्न गाउँपालिकामा आठ विद्यालयलाई दुई हजार १०० झोला वितरण गरेको थियो । उक्त झोला हस्तान्तरण कार्यक्रममा एसएस फाउण्डेशनका सल्लहकार सोभित उप्रेती, समाजसेवी तथा राप्रपा नेता सुन्दरप्रकाश खड्का, दोलखा क्षेत्र नं २ का राप्रपाका अध्यक्ष कुमार कार्की, समाजसेवी मनिषा श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । –––
Be the first to comment on "एसएस फाउण्डेशनद्वारा दोलखाका विद्यालयलाई झोला सहयोग"